दोस्रो संविधानसभामा बढे दल

Elecatation Commisationकाठमाडौं, १९ मंसिर । दोस्रो संविधानसभामा अघिल्लोमा भन्दा ५ राजनीतिक दलको बढी सहभागिता रहने भएको छ । पहिलो संविधानसभामा २५ दलले प्रतिनिधित्व गरेकोमा यसपटक ३० दल पुगेका छन् ।

निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न चुनावको समानुपातिकतर्फको सिट बाँडफाँड गरेसँगै ३० दलले संविधानसभामा सहभागिता जनाउने निश्चित भएको हो । प्रत्यक्षतर्फ १० दलले जित हासिल गरेकोमा समानुपातिकतर्फ ३० दलले सिट पाएका छन् । प्रत्यक्षमा २४० सिटका लागि १२१ दलका ६ हजार १ सय २६ उम्मेदवार चुनावमा भिडेका थिए । समानुपातिकको ३३५ सिटका लागि १२२ दलका १० हजार ७ सय ९ उम्मेदवार बन्दसूचीमा थिए ।
आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कांग्रेसको भागमा सबैभन्दा बढी ९१ सिट परेको छ । कुल सिट ३३५ मध्ये यो २७.१६ प्रतिशत हो । यसपछि एमालेले ८४, एमाओवादीले ५४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २४ सिट प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले १०, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले १०, मधेसी जनअधिकार फोरम नेपालले ८, तराई–मधेस लोकतान्त्रिक पार्टीले ७, नेकपा (माले)ले ५, सद्भावना पार्टीले ५, संघीय समाजवादी पार्टी नेपालले ५ सिट पाएका छन् ।
नेकपा (संयुक्त)ले ३, नेपाल मजदुर किसान पार्टीले ३, राष्ट्रिय जनमोर्चाले ३, राष्ट्रिय मधेस समाजवादी पार्टीले ३ सिट, नेपाल परिवार दलले २, थरुहट तराई पार्टी नेपालले २, राष्ट्रिय जनमुक्ति पार्टीले २, दलित जनजाति पार्टीले २ सिट, तराई मधेस सद्भावना पार्टी नेपालले २ सिट प्राप्त गरेको आयोगले जनाएको छ ।
त्यस्तै, समाजवादी जनता पार्टीले १, नेपाली जनता दलले १, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)ले १, नेपा: राष्ट्रिय पार्टीले १, संघीय सद्भावना पार्टीले १, खम्बुवान राष्ट्रिय मोर्चाले १, अखण्ड नेपाल पार्टीले १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १, जनजागरण पार्टी नेपालले १ र मधेस समता पार्टी नेपालले १ सिट प्राप्त गरेका छन् ।
कांग्रेसले २४ लाख १८ हजार ३ सय ७०, एमालेले २२ लाख ३९ हजार ६ सय ९, एमाओवादीले १४ लाख ३९ हजार ७ सय २६, राप्रपा नेपालले ६ लाख ३० हजार ६ सय ९७, फोरम लोकतान्त्रिक २ लाख ७४ हजार ९ सय ८७, राप्रपाले २ लाख ६० हजार २ सय ३४, फोरम नेपालले २ लाख १४ हजार ३ सय १९, तमलोपाले १ लाख ८१ हजार १ सय ४०, सद्भावना पार्टीले १ लाख ३३ हजार २ सय ७१, नेकपा (माले)ले १ लाख ३० हजार ३ सय, संघीय समाजवादीले १ लाख २१ हजार २ सय ७४ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय जनमोर्चाले ९२ हजार ३ सय ८७, नेकपा (संयुक्त)ले ९१ हजार ९ सय ९७, राष्ट्रिय मधेस समाजवादी पार्टीले ७९ हजार ५ सय ८, नेमकिपाले ६६ हजार ७ सय ७८, राष्ट्रिय जनमुक्ति पार्टीले ६३ हजार ८ सय ३४, तमसपाले ६२ हजार ७ सय ४६, थरुहट तराई पार्टीले ६२ हजार ५ सय २६, नेपाल परिवार दलले ५१ हजार ८ सय २३, दलित जनजाति पार्टीले ४८ हजार ८ सय २, अखण्ड नेपाल पार्टीले ३६ हजार ८ सय ८३, फोरम गणतान्त्रिकले ३३ हजार ९ सय ८२, नेपाली जनता दलले ३३ हजार २ सय ३, खम्बुवान राष्ट्रिय मोर्चाले ३० हजार ६ सय ८६, नेपा: राष्ट्रिय पार्टीले २८ हजार ११, जनजागरण पार्टीले २७ हजार ३ सय ९७, संघीय सद्भावना पार्टीले २५ हजार २ सय १५, मधेस समता पार्टीले २३ हजार १, समाजवादी जनता पार्टीले २१ हजार ६२४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले २१ हजार १ सय २८ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ ९४ लाख ६३ हजार ८ सय ६२ मत खसेको आयोगले जनाएको छ ।
आयोगका अनुसार कम्तीमा २१ हजारभन्दा बढी मत प्राप्त गरेका दलले एक सिट प्राप्त गरेका छन् । देशलाई एउटै चुनाव क्षेत्र निर्धारण गरी दलले प्राप्त गरेका मतका आधारमा संविधानसभामा सिट संख्या बाँडफाट हुने प्रणाली नै समानुपातिक चुनाव हो । २०६४ मा सम्पन्न पहिलो संविधानसभा चुनावबाट यसको प्रयोग गरिएको थियो । मतविभाजक सूत्रका आधारमा सिट विभाजन भएको थियो ।
आयोगमा मंगलबार आयोजित कार्यक्रममा समानुपातिक प्रणालीका निर्वाचन अधिकृत नगेन्द्र दाहालले दलहरूले प्राप्त गरेका मतसंख्याका अनुपातमा सिट बाँडफाँडको जानकारी दिएका थिए । निर्वाचन अध्यादेशअनुसार अब दलले प्राप्त गरेका सिट संख्यामा बन्दसूचीबाट उम्मेदवारका नामावली २५ मंसिरभित्र आयोगमा पेस गर्नुपर्नेछ । यसरी उम्मेदवार पेस गर्दा ५० प्रतिशत महिला, मधेसी पुरुष १५.६ र महिला १५.६, दलित महिला ६.५ र पुरुष ६.५, उत्पीडित जाति जनजाति पुरुष १८.९ र महिला १८.९, पिछडिएका वर्ग २.२ र खस आर्य तथा अन्य पुरुष १५.१ र महिला १५.१ प्रतिशत पेस गनुपर्नेछ ।
आयोगले समानुपातिकतर्फ प्राप्त गरेको सिटका विषयमा जानकारी दिन मंगलबार बोलाएको बैठकमा एमाओवादी प्रतिनिधि सहभागी थिएनन् । सोमबार मात्र एमाओवादीसहितका १६ दलको बैठकले चुनावी प्रक्रियाप्रति असन्तुष्टि जनाउदै आयोगले बोलाएको बैठक बहिष्कार गर्ने र समानुपातिक सभासद्को नाम पनि नदिने निर्णय गरेका थिए । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले समानुपातिक निर्वाचन आयोगमा समानुपातिकतर्फ विजयी उम्मेदवारको नामावली नबुझाउने दलको सम्बन्धमा ऐनमा कुनै पनि व्यवस्था नभएको स्पष्ट पारेका छन् । एमाओवादीसहितका दलहरू आयोगले बोलाएको बैठकमा सहभागी भएनन् । अब के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उप्रेतीले कानुनमा कुनै पनि व्यवस्था नभएका कारण यसै गर्ने भन्ने अवस्था नरहेको बताएका हुन् ।
‘बैंकमा ब्यालेन्स भएको रकम नझिक्दासम्म जसको खाता हो, उसैको खातामा रहन्छ,’ प्रमुख आयुक्त उप्रेतीले मंगलबार पत्रकारसँग भने, ‘तर, चुनावमा सहभागी सबै दल प्रक्रियामा आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।’ दलहरूले बुझाएको बन्दसूची संविधानसभा रहेसम्म कायम रहने भएकाले सबै दल प्रक्रियामा सहभागी हुने उनको भनाइ थियो ।
प्रत्यक्षतर्फको २४० क्षेत्रमध्ये कांग्रेसले १०५, एमालेले ९१, एमाओवादीले २६, फोरम लोकतान्त्रिकले ४, तमलोपाले ४, राप्रपाले ३, फोरम नेपालले २ र नेमकिपा, सद्भावना अनि तमसपाले १/१ स्थानमा जितेका छन् । दुई स्थानबाट स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
आयोगले मतगणनाको पूर्ण विवरण आउँदा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७८.३४ प्रतिशत र समानुपातिकतर्फ ७९.८२ प्रतिशत मत खसेको जनाएको छ । आयोगले मंगलबार नै पत्रकार सम्मेलन गरी स्वच्छ, निष्पक्ष र पारदर्शीपूर्ण तवरले दोस्रो संविधानसभा चुनाव सम्पन्न भएको जनाएको थियो । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आममतदाताको अभूतपूर्व सहभागितामा चुनाव ऐतिहासिक रूपमा सफल भएको भन्दै मतदाता, राजनीतिक दल, उम्मेदवार, राष्ट्रसेवक कर्मचारी, सरक्षाकर्मी, सञ्चारकर्मी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया