३४५ टन रसायनिक विषादी प्रयोग : सरकार

Bisadi Pryogकाठमाडौं, १८ मंसिर । सरकारले मानव स्वास्थ्यलाई आघात पुर्‍याउने निषेधित घातक विषादी विक्री र प्रयोग गर्ने उपर कडा कारवाही गरिने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय विषादी प्रयोगमुक्त दिवसको उपलक्ष्यमा आज (मंगलबार) राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले निषेधित घातक विषादी विक्री नगर्न आग्रह गरेका हुन् । उनले विषादी प्रयोगप्रति चिन्ता पनि जनाए ।

उनले आत्याधिक रसायनिक मल र निषेधित घातक रसायनिक विषादी प्रयोग गरी उत्पादन गरिएका खाद्यान्न, तरकारी र फलफूलले मानव जीवनमा प्रत्यक्ष असर पर्ने बताए । ‘स्वास्थ्य कृषि उत्पादनका लागि आई.पी.एम. पद्धति अवलम्वन, रसायनिक विषादीको सट्टा प्राङ्गारिक विषादी प्रयोग र क्रमश: अर्गानिक उत्पादनतर्फ उन्मुख रहनु पर्छ,’ उनले भने ।

नेपालका पाँचै विकास क्षेत्रमा एउटा/एउटा प्राङ्गारिक मल कारखाना स्थापना गर्ने सोंचाई रहेको भन्दै वास्कोटाले मुलुकको अर्थतन्त्र विकासको आधार नै कृषि क्षेत्र रहेको बताए ।

‘घातक विषादी विक्री गर्ने एग्रोभेटको दर्ता खारेज गरी पसल वन्द गराउन र प्रयोग गर्ने किसानवाट घातक विषादी जफत गरी कानूनी कारवाही गर्ने छौं,’ उनले भने ।

सचिव वास्कोटाका अनुसार नेपालमा गत वर्ष ३ सय ४५ टन रसायनिक विषादी प्रयोग भएको छ । खपत भएको विषादी विशेषगरी हरियो तरकारीमा प्रयोग भएको सचिव वास्कोटाले बताए ।

विषादी प्रयोग गरेपछि तरकारी निश्चित दिनसम्म वजारमा ल्याउनु नहुने भन्दै उनले विषादीका सम्बन्धमा किसान सजग हुनु पर्ने बताए ।

नेपालमा सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि सर्वप्रथम विषादी आयत गरिएको थियो । उनले व्यवस्थित ढंगले विकसित देशमा प्रति हेक्टर १२–१५ टन विषादी प्रयोग गरेपनि त्यस्ले आम उपभोक्तालाई असर नगरेको बताए ।

प्रतिक्रिया