काठमाडौं, १८ मंसिर । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महिला पुन:स्थापना केन्द्र
(ओरेक) नेपालले देशव्यापी सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ ।
महिलामाथि हुने विभिन्न प्रकारका हिंसा न्यूनीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा नै महिला हिंसाविरुद्धको दिवस मनाउने गरिएको छ । ओरेक नेपालका संस्थापक अध्यक्ष डा. रेणु राजभण्डारीले ७५ जिल्लामा ओरेकका शाखा कार्यालय रहेको र त्यसले विभिन्न विद्यालय, स्थानीयस्तरका नेतासँग अन्तक्र्रिया कार्यक्रम लगायत संचालन गरिरहेको जानकारी दिइन् ।
महिला हिंसा न्यूनीकरणसम्बन्धी विभिन्न खालका पम्लेट, पर्चालगायतका सन्देशमूलक सामग्रीको वितरण, सडक नाटक, जनचेतना अभिवृद्धिलगायत कार्यक्रम पनि सञ्चालन भइरहेको बताइएको छ ।
ओरेकले महिलामाथि हुने कुनै पनि हिंसा न्यूनीकरण र पीडकलाई कारबाहीका लागि ‘हटलाइन सेवा’ र ‘सेफ हाउस’ सञ्चालन गरिरहेको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका पेट्रिया, मिनर्भा र मारिया नामका तीन दिदीबहिनीको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम तरिकाले हत्या गरेपछि त्यसैको सम्झनामा विश्वव्यापी रूपमा २२ वर्षदेखि महिला हिंसाविरुद्धको दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया