सहकारी स्थानीय अर्थतन्त्रको मेरुदण्ड

सिमरा, १७ मंसिर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का उपाध्यक्ष ऋषिराज घिमिरेले मुलुकभरका बचत तथा ऋण सहकारीहरु स्थानीय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बताएका छन् । शनिबार पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघको पांचौ वार्षिक साधारणसभा उदघाटन गर्दै घिमिरेले उक्त कुरा बताएका हुन् ।

बचत तथा ऋण सहकारीहरुको अवसरसंगै जोखिम र चुनौति बढिरहेको बताउदै घिमिरेले सहकारीलाई समुदायमा आधारित र सदस्यकेन्द्रीत बनाएर समुदायको आर्थिक एवम् सामाजिक हितमा क्रियाशिल रहन आग्रह गरे । वार्षिक साधारणसभामा नेफस्कुनका कोषाध्यक्ष दिपक थापा, सञ्चालक दामोदर अधिकारी, जिल्ला सहकारी संघ पर्साका अध्यक्ष जोखन महतो, राष्ट्रिय सहकारी बैंक सिमराका संयोजक एवम् बारा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष कृष्ण पौडेल, सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, गैरसहकारी संस्था जिल्ला समन्वय समितिका अध्यक्ष रामनरेश यादव, डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख अरुण बस्नेत, जिल्ला संघका संस्थापक उपाध्यक्ष ईब्राहिम देवान, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख युवराज ित्रपाठीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उदघाटनपछि आयोजित बन्द सत्रले महासचिव रामप्रवेश साहको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामाकान्त पटेलको आर्थिक प्रतिवेदन तथा लेखा संयोजक काशिप्रसाद साहको लेखा प्रतिवेदन सुझावसहित पारीत गरेको थियो । त्यस्तै जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाको तेस्रो वार्षिक साधारणसभा डुमरवानामा सम्पन्न भएको छ । बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले उदघाटन गर्नु भएको वार्षिक साधारणसभाले हरिप्रसाद सापकोटाको अध्यक्षतामा नयां सञ्चालक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष टंक आचार्य, सचिव यज्ञ तिवारी, कोषाध्यक्ष हेमाकुमारी क्षेत्री र सञ्चालकहरुमा रुपा सापकोटा, कुलानन्द आचार्य र बन्हु महतो रहेका छन् ।

प्रतिक्रिया