काठमाडौं : निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ कुल सदर मत ९४ लाख ६३ हजार ८ सय ६२ रहेको जनाएको छ ।
आयोगले आइतबार साँझ विज्ञप्ति जारी गरी ४ मंसिरमा सम्पन्न दोस्रो संविधानसभा चुनावको समानुपातिक प्रणालीतर्फ भाग लिएका १२२ राजनीतिक दलले सो परिणाममा मत प्राप्त गरेको जनाएको हो । आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार आइतबार यस मत परिणामलाई अन्तिम रूप प्रदान गरिएको छ ।
आयोगले १८ मंसिरमा बिहान ११ बजे राजनीतिक दलहरूलाई आफूले प्राप्त गरेको सिट संख्याको औपचारिक जानकारी दिनेसमेत प्रवक्ता राईले जानकारी दिएका छन् ।
आइतबार समानुपातिकको सिट संख्याको टुंगो लगाउने भनिएको थियो ।
समानुपातिकतर्फ निर्धारण गरिएको सिट संख्याको औपचारिक जानकारी दिने प्रयोजनका लागि सम्बन्धित राजनीतिक दलहरूलाई दलको आधिकारिक पत्रसहित दलको प्रतिनिधिलाई मंगलबार बिहान ११ बजे कान्तिपथस्थित आयोगमा उपस्थित हुन पनि आयोगले अनुरोध गरेको छ ।
प्रतिक्रिया