हारपछि बखेडा झिक्दै मधेसी नेता

Mahantha-thakurकाठमाडौ, १६ मंसिर । दोस्रो संविधानसभा चुनावमा ठूलो धक्का पाएका मधेसी दलले अब बखेडा झिक्ने संकेत गरेका छन् । चुनावमा पराजय भोग्नुपरेपछि संविधानसभा र सरकारमा आफ्नो पहुँच राख्नका लागि उनीहरूले सडक संघर्षको चेतावनी दिन थालेका छन् ।

मधेसी दलले ‘जनताको म्यान्डेटका आधार’मा संविधानसभा र सरकारमा आफूहरूलाई सहभागी गराउनुपर्ने जिकिर गर्दै त्यसो नभए आन्दोलन गर्ने चेतावनी दिन थालेका हुन् । संविधानसभा र सरकारमा पुग्न उनीहरूले घुमाउरो पारामा भन्न थालेका छन्, ‘गणितीय खेलबाट मधेसका मुद्दा सम्बोधन नगरी संविधान बनाउन खोजिए सडक संघर्षमा जान्छौँ ।’
मधेसी पत्रकार संघले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी मधेसी नेताहरूले सडक संघर्षको चेतावनी दिएका हुन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानसभामा गणितीय खेलबाट मधेसको मुद्दा स्थापित हुन नसक्ने दाबी गरे । ‘त्यो हिजोको संविधानसभामा पनि सम्भावना थिएन, आज पनि छैन,’ अध्यक्ष ठाकुरले भने, ‘संघर्षले मात्रै मधेसको मुद्दा स्थापित हुन सक्छ ।’
ठाकुर जनताबाट आफू तिरस्कृत भए पनि मधेस मुद्दाको नाम दिएर सरकार या संविधानसभामा आफ्नो पहुँच बढाउन चाहेका छन् । परिवर्तनका लागि संघर्ष गर्ने र परिवर्तन चाहनेहरू चुनावी परिणामबाट पछि परेको यथार्थ भएको स्वीकार गर्दै लडाइँ र संघर्षमा कहिले काहीँ हुने तल–माथिले निराश हुन नहुने उल्लेख गरे ।
मधेसी भएकै कारण मात्र मधेसी जनताबाट भोटको अपेक्षा गर्नु ठीक नभएको उल्लेख गर्दै उनले जनतालाई मुद्दा बुझाउन नसक्नु र दलहरूबीच चुनावी तालमेल हुन नसक्नु गल्ती भएको स्विकारे । उनले चुनावको दिन र त्यसपछिको प्रक्रियामा देखिएको विभिन्न त्रुटिले चुनावमा धाँधलीको उल्लेख गर्न छाडेनन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरू जनताबाट निर्वाचित हुन नसके पनि सडकबाट आºना माग पूरा गराउने दाबी गरे । ‘हाम्रो अबको बाटो सडक संघर्ष हो,’ अध्यक्ष महतोले भने, ‘संविधानसभामा केही सिट घट्दैमा चिन्तित हुनुपर्दैन । चुनाव हार्नु लक्ष्य हार्नु होइन, मिसन हारेको छैन ।’
अघिल्लो संविधानसभा चुनावमा मधेसी दलले ८३ सिट जितेका थिए तर यसपटक उनीहरू ५० सिटमा सीमित भएका छन् । कुनै पनि मधेसी दलले प्रत्यक्ष र समानुपातिक गरी १५ सिट हासिल गर्न सकेको छैन ।
संविधानसभामा अनपेक्षित हार व्यहोरेका फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आगामी दिनमा सदनभन्दा पनि सडक संघर्षलाई रोज्नुपर्ने बताए । मुद्दा कहिल्यै मर्न नसक्ने भन्दै मुद्दालाई हार्न नदिन सबै सजग रहनुपर्ने यादवको भनाइ थियो ।
प्रत्यक्षतर्फ मधेसी दलहरूमध्ये फोरम लोकतान्त्रिकले ४, फोरम, नेपालले २, तमलोपाले ४, सद्भावना पार्टीले १ र तराई मधेस सद्भावना पार्टीले १ सिट जितेका छन् ।

प्रतिक्रिया