बिक्रीमा भगवान्

Surendra-Rai‘भगवान् मन्दिर, गुम्बा, मस्जिद अनि चैत्यमा बस्छन्’, एउटा आम धारणा । केही भक्तजनहरु भगवान् पुज्न मूर्ति खोज्दै देवालय धाउँछन् । तर, मूर्तिपुजामा विश्वास नराख्नेहरु भन्ने गर्छन्, ‘फूल अक्षताले पुजेर भगवान प्राप्त गर्न सकिँदैन ।’ आत्मामा भगवान्लाई सजाउन सक्नुपर्छ । सुरेन्द्र राई भने २६ वर्षयता सडक पेटीमा भगवान सजाइरहेका छन् । अनि भगवानको मूर्ति बेचेर जीविकाको डोरी लम्ब्याइरहेका छन् ।

‘भगवान क्रयविक्रयको साधन हुनसक्छन् ? मूर्तीको मोलमोलाई गरेर कमाइ गर्नुपर्ने यो कस्तो काम ?’ कुनै बेला आफ्ना अगाडि मिलाएर राखिएका भगवानका मूर्तीहरु हेर्दै कल्पना गरिरहन्थे सुरेन्द्र । ‘भगवान बेच्ने पापी हुन्छन्, मूर्ती बेचेर नाफा कमाउनेलाई त जीवनमा राम्रो पनि हुँदैन’, आफन्त, साथीभाइले यसै भन्थे सुरुआती दिनमा । एकातर्फ ‘गर्न नहुने’ काम गरिएकोमा आत्मग्लानि, अर्कोतर्फ आफन्तको कटु टिप्पणी । २६ वर्षअघि वसन्तपुर दरबार स्क्वायरको सडक पेटीमा प्लास्टिक बिच्छ्याएर मूर्ति असरल्ल पार्दा झनै उदास देखिन्थे उनी । विदेशी ग्राहक आएर अंग्रेजीमा कुरा गरिरहँदा नजानेर अलमल पर्नु त अर्को बाध्यता छँदै थियो ।
आज हरेक दिन मूर्तीको मोलमोलाईमा व्यस्त हुन्छन् उनी । भगवान बेच्न अभ्यस्त पनि भइसकेका छन् । अंग्रेजीमा बुद्ध, हिन्दु दर्शनसँग गाँसिएका मान्यताहरुको व्याख्या गर्दै भनिरहेका हुन्छन्, ‘बुद्ध वाज बर्न इन नेपाल, वी ह्याभ मेनी रिलिजन । वान रिलिजन रेस्पेक्ट टु अनोदर रिलिजन ।’ खरिदकर्तालाई आकर्षित गर्न शंखको मोलमोलाई यसरी गर्छन्, ‘मन्दिरमा पूजा गर्नुअघि शंख (अंग्रेजीमा सिसेल) बजाएर भगवानलाई बोलाइन्छ । अनि, पूजा सकिएपछि शंख बजाएरै भगवानलाई बिदाइ गरिन्छ । नेपालका हिन्दु ब्राम्हणले खाना खानुअघि पनि शंख बजाउने गर्छन् ।’ योचाहिँ आफैले सिकेका कुरा रहेको उनले बताए । यति मात्रै होइन, विदेशीलाई नेपाली वीरताको व्याख्या पनि गरिरहेका हुन्छन् उनी । बिक्रीमा राखिएको खुकुरी देखाउँदै वीर गोर्खालीले ब्रिटिसहरुसँग पानी मात्रै खाएर खुकुरीको भरमा लडेका विरताका कथा पनि आफ्नो शैलीमा जतिसक्दो सजाएर सुनाइरहेका हुन्छन् सुरेन्द्र ।
०००

भगवान अदृष्य छन्, दृष्ट कहिल्यै हुँदैनन् । यो मान्यतासँग उनी पनि सहमत छन् । अनि, अदृष्य आकृतिको पनि रुपरंग मिलाएर बिक्री गर्ने साधन बनाउन मिल्छ त ? उनलाई थाहा छ भगवान आस्था हुन् । आस्था खरिद–बिक्री हुन सक्दैन । तर, आस्थाको प्रतिक बेचेर जिउने हजारौ मान्छेहरुझैं सुरेन्द्र पनि एक हुन् । ‘मूर्तीकारले आकृति कुँदे । धेरै मानिस भगवानको प्रतिक स्वरुप अगाडि राखेर प्राथना गर्छन् । आफ्नो आकांक्षा पूरा गरिदने आशाले भगवानलाई प्रसादी चढाएर स्वार्थ पूरा गरिदेउ भन्छन् । म त मानिसलाई चाहिने भगवान्स्वरुपको आकृति हस्तान्तरणको माध्यम मात्रै हुँ ।’ आफूले पनि हरेक दिन भेटी चढाउँदै पसल सजाउनुअघि प्रार्थना गर्ने गरेको उनले बताए ।
नुवाकोटमा जन्मिएका सामान्य व्यक्ति हुन् सुरेन्द्र । राई समुदायका पूजाआजाप्रतिको मोह परिवारले जगाएका थिएनन्, न त यो उनको जातीय संस्कार नै हो । गाउँका छिमेकी ब्राह्मणहरूले गरेका पुजाआजा देखेका मात्रै थिए उनले । कक्षा ४ सम्म गाउँमै पढेपछि नेपाल शहर उर्फ काठमाडौं हेर्न हिँडेका थिए । नपढेपछि कमाउन शारीरिक श्रम त गर्नैपर्‍यो । ‘काठमाडौं आएर केही वर्ष फर्निचर कारखानामा काम गरें । त्यतिबेला पनि यसरी सडकमा मूर्ती बेचिन्छ भन्ने सोचेको थिइनँ’, वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा टहलिन आउँदा उनी आफै पनि मूर्ती बिक्रीका लागि मोलमोलाई गरिरहेकाहरुलाई देखेर सोच्ने गर्थे, ‘भगवान बेचेर पैसा कमाउनेहरु π’ साथीको संगतले आज त्यही भगवान् बेच्नेहरुको सूचीमा लामबद्ध छन् सुरेन्द्र ।
०००

असार महिना, लगातारजसो झरी परिरहेको छ । सोमबार दिउँसो वसन्तपुर दरबार स्क्वायर रमाइलो देखिएको छ । आकाश खुलेको छैन । तैपनि पानीले धूलो पखालिदिएपछि वातावरण ‘फ्रेस’ बनेको छ । सफा देखिएको छ सडकपेटी पनि । एकै छिन झरी रोकिएपछि सुरेन्द्र मूर्ति छोपिरहेको प्लाष्टिक उतारेर आसपास आइपुगेका ग्राहकलाई, ‘हेल्लो, एक्सक्युज मी π’ भन्न तयार भइसकेका छन् ।
आफ्नो घुम्रिएको कपाल कन्याउँदै हाइ गर्दै थिए उनी । व्यापार गर्न बस्दा पनि हाई ? सुरुआतकै प्रश्न अलि ठाडो पाराको भयो । तैपनि सहजसँग उनले जवाफ फर्काए, ‘आज तपाईंसहित तीन जना ग्रहाकसँग मात्रै कुरा गरें, अनि आउँदैन त हाइ π’ यस्तो व्यापारले जीवन चल्छ त ? ‘हिजो वसन्तपुर दरबार क्षेत्रमा करिब दुई सय विदेशी पर्यटक आएका थिए होलान्, करिब सय जनासँग त मैले पनि कुरा गरें । मूर्ती पनि करिब तीस हजार रुपियाँको बिक्री भयो ।’ सुरेन्द्र व्यपारको अनिश्चितता सुनाउँदै थिए । ‘यिनका कित्ना रुपिए हे ?’, पसलमा राखिएको देवीको वाहनस्वरुप सिंहको मूर्ती देखाउँदै भारतीय ग्राहक पुगे । ‘एट थाउजेन्ट फाइभ हन्ड्ेरड रुपिज’, जवाफ फर्काए । भारतीयले बार्गेनिङ गरे, ‘दो हजारमे होगा ?’ सुरेन्द्रले त्यतिमा दिने छेकछन्दै देखाएनन्– ‘दो त के चार हजार मे भी नही आता ।’ उनीहरु गएपछि भने– ‘यी मोल बुझ्न मात्रै आएका हुन् ।’
सडकपेटीको २३ वर्षे अनुभवले नै उनी अन्तर्राष्ट्रिय ग्राहकको खरिद व्यवहार जाँच्न सक्ने भइसकेका छन् । सुरुआती दिनमा अंग्रेजी बोल्न तिनै विदेशीबाट सिके उनले । अहिले तिनै विदेशीले खरिदका लागि गर्ने मोलमोलाइको व्यवहार एकै वचनमा चिन्न सक्छन् । ‘पहिले विदेशी ग्राहक राम्रा हुन्थे । सामानहरु तोकिएको मूल्यमा खरिद गर्थे । त्यतिबेला उनीहरु पनि खुसी, हामी पनि खुसी’, आफ्नो व्यावसायिक अनुभव सुनाउँदै विदेशी ग्राहकको व्यवहार मूल्यांकन गरे, ‘अहिले विदेशी भन्दा नेपाली ग्राहक ठीक छन् । विदेशीहरु दश वर्षअघिको भाउ अहिले लगाउन खोज्छन् । उनीहरुलाई नेपाली बजारमा बढेको महँगीको वास्तै छैन । बरु उल्टै ठग्न लागेको भन्ने सोच्छन् । नेपालीहरु भने बजार भाउ बढेको बाध्यता बुझ्छन् । बुझाउन सजिलो पनि हुन्छ ।’
चार हजार रुपियाँ सापटी गरेर सडकपेटीमा भगवान्को दोकान थापेका थिए सुरेन्द्रले । जुन स्थानमा व्यवसाय थालेका थिए, दुई दशक नाघिसक्दा पनि त्यही छन् । सामान लगभग उस्तै छन् । बुद्धको मूर्ति, बौद्ध धर्मको ग्रन्थ, माने, नेपाली खुकुरी, विभिन्न भगवानका मूर्ति आदि उनको पसलका सामग्री हुन् । बिहान सात बजेदेखि खुलेको पसल साँझ आँखा देखुन्जेलसम्म चलिरहन्छ । साँझ परेपछि काठको बाक्सामा मूर्तीहरु चाँङ लगाउछन् अनि भिमसेनस्थानमा रहेको घर फर्किन्छन् । उही दैनिकीमा वर्षौं बिताउँदा पनि आफ्नो कामबाट विरक्त छैनन् । दिनदिनै फरकफरक ठाउँका व्यक्तिहरुसँग भेटघाट हुन्छ, खबर थाहा हुन्छ । त्यही सडकपेटीमा बसेर पूर्वी मुलुकका हातमा किताब बोकेर हल्लिँदै आउने फकिर गोराहरुसँग बोल्न जान्ने भए । त्यही सडकमा विदेशी राजदूतहरुसँग पनि भेट गरेका छन् उनले । अमेरिकी राजदूतसँग पनि एकपटक बोल्ने मौका पाएका थिए रे †
महिनामा एक लाख रुपियाँसम्मको आम्दानी मूर्ति बेचेरै गर्दा रहेछन् सुरेन्द्र । कमाइबाट सन्तुष्ट पनि छन्। एकातिर आम्दानी गरेर बसिरहेका छन्, अर्कोतिर नेपाल भित्रिने विदेशी पर्यटकहरुको प्रकृति र संख्या पनि हिसाब गरिरहेका छन् । नेपाल घुम्न आउने हरेक पर्यटक वसन्तपुर दरवार स्क्वायर पुगेकै हुन्छन् । उनीहरुमध्ये अधिकांशसँग बोलेका छन् सुरेन्द्र । विदेशीको नाम र संख्या यकिन गर्दै वसन्तपुर दरबार स्क्वायर पठाउने सरकारको तथ्याङ्कले संख्यामा विदेशीको व्यवहार आँकलन गरेको होला । सडकपेटीमा बसेका सामान्य व्यापारी सुरेन्द्रले भने नेपाल भित्रिएका विदेशीले यहाँ कति खर्च गर्न रुचाउछन् भन्ने सहजै बताइदिन सक्छन् । ‘अमेरिकी पर्यटक सबैभन्दा असल हुन्छन्’, उनले भने, ‘उनीहरू अनावश्यक मोलमोलाई गरेर बस्दैनन् । मन परेको सामान तोकिएको मूल्यमा खरिद गरिहाल्छन् ।’
हुन त सुरेन्द्रले बेच्ने कुनै पनि सामग्रीको मूल्य निश्चित छैन । ग्राहकको प्रकृति हेरेर सामग्रीको मूल्य निर्धारण गर्न अभ्यस्त छन् उनी । ‘सरकारले मूल्य तोकिदिएकै छैन । त्यसैले सुहाउँदो तरिकाले आफैँ मूल्य लगाउने ।’ उनले व्यपारमा राख्ने नाफा हो । कहिलेकाँही दुई सय प्रतिशत भन्दा बढी पनि नाफा हुुन आउँछ । मानवको आस्थाको प्रतिक भगवानको प्रतिकमा बढी नाफा खाएर बिक्री गर्दा बेलाबखत डर पनि लाग्दो हो कि ?सुरेन्द्र जवाफ दिन्छन्, ‘व्यवसायमा डरको कुरै आउँदैन । सुहाउँदो नाफा नराखे व्यवसायको धर्म नै कहाँ रह्यो र ?’

प्रतिक्रिया