सुदूरपश्चिमको पहिचानका लागि संग्रहालय

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुदूरपश्चिम क्षेत्रको पर्यटकीय सम्पदालाई उजागर गरी बजारीकरण गर्नसके आर्थिक विकासको ठूलो सम्भावना रहेको बताएका छन् ।

‘सुदूरपश्चिम: पर्यटन र संस्कृति विषयक फोटो प्रदर्शनी’ को शुक्रवार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै नेता देउवाले सुदूरपश्चिमको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई झल्काउनका लागि राजधानीमा स्थापना गरिने सुदूरपश्चिम सङ्ग्रहालयका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।
दुईदिने सो फोटो प्रदर्शनीमा सुदूरपश्चिमको नौ जिल्लाका कला, संस्कृति, भेषभूषा, धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वलाई झल्काउने ६० वटा फोटो प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । सुदूरपश्चिमका रहेका खप्तडक्षेत्र, अमरगढी किल्ला, घोडाघोडी ताल, टीकापुर पार्क, शैलेश्वरी र मालिकार्जुन मन्दिर आकर्षण र दर्शनीयस्थलका रूपमा चर्चित रहेको छ ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता लेखराज भट्ट र सुदूरपश्चिम समाजका अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिमको पर्यटकीय सम्पदाको विकासका लागि भौतिक पूर्वाधार निर्माण र व्यापक प्रचारप्रसारमा सरकारले जोड दिनुपर्ने र त्यसका लागि राजधानीमा सुदूरपश्चिम सङ्ग्रहालय निर्माण गरिनुपर्ने विचार राखेका थिए ।

प्रतिक्रिया