खानेपानीका लागि चार घन्टा पैदल

Pani-Ko-Dhaaraबेलौरी, १२ मंसिर । गाउमै खानेपानीको धारा नहुदा चुरे क्षेत्र मलासका बासिन्दालाई चार घन्टा टाढाबाट पैदल हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ ।

चुरेशृङ्खलामा रहेको डडेल्धुराको सीमावर्ती गाउ मलासका झन्डै ७०/८० परिवारले पानी खोज्नकै लागि आफ्नो समय खर्चिरहेका छन् । “वर्षात्को पानी सङ्कलन भएको अहिलेको समयमा त चार घन्टामै घरमा पानी पुर्‍याउन सकिन्छ,” मलास निवासी विवेक धामीले भन्नुभयो, “फागुन–चैततिर त त्यसभन्दा बढी टाढा जानुपर्छ ।” पानी खोज्नकै लागि मलासवासीले धेरै समय खर्चिनुपरेको धामी बताउँछन् । स्थानीय बासिन्दाले पोखरीको फोहर आकासेपानीसमेत पिउने गरेका छन् । मलास मात्रै होइन, डडेल्धुरा जिल्ला सदरमुकामदेखि करिब १५० किमि टाढा रहेका चुरे क्षेत्रका दर्जनाँ गाउँबस्तीका बासिन्दा वर्षौंदेखि फोहर पानी पिउन बाध्य रहेको धामीले बताए  ।
चुरे क्षेत्रमा रहेका दर्जनाँै गाउका करिब २०० घर परिवारले वर्षातका समयमा सङ्कलन गरिएको फोहर पानी पिउनुपरेको छ । “कि त चार घन्टा टाढाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता छ” स्थानीयवासी पिरुलाल धामीले भने  । चुरे क्षेत्रमा रहेका बड्डी मलास, पिपलकोट, बस्नेउटा, मलास, ददीगडा, तालिगडा, जिमरेगडालगायत दर्जनौँ गाउँका स्थानीय बासिन्दाले फोहर पानी पिइरहेका छन् ।
पानी अभावकै कारण स्थानीयस्तरमा सञ्चालित विद्यालयको पढाइसमेत प्रभावित हुने गरेको सिद्धनाथ मावि मलासका प्रधानाध्यापक कैलाशदत्त जोशीले बताए  । “पढाइ भइरहेका बेला तिर्खा लागेमा विद्यार्थीहरू भागेर घर जाने गरेका छन्,” प्रधानाध्यापक जोशीले भन्नुभयो, “कतिपय विद्यार्थीले पानी पिउनका लागि घरबाट बोतलमा बोकेर समेत ल्याउने गरेका छन् ।” पानीको अभावकै कारण विद्यालयमा बनेको शौचालय प्रयोगविहीन अवस्थामा रहेको जोशीले बताए ।

प्रतिक्रिया