काठमाडौं, ११ मंसिर । कर्जाको रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरेको अभियोगमा प्रहरीले किष्ट बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा किष्ट बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत ४४ बर्षीय बाल नरसिंह घर्ती रहेको प्रहरीले जनाएको छ । घर्तीसहित अन्य दुई उच्च अधिकारीपनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पा पिपलडाँडा–१ घर भई हाल किष्ट बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत ४४ बर्षीय घर्ती, मोरङ जिल्ला बिराटनगर उपमहानगरपालिका–८ घर भएका किष्ट बैकका डेपुटी मेनेजर ३४ बर्षीय मञ्जयराज पाण्डे, ललितपुर उपमहानगरपालिका–१८ घर भएका किष्ट बैंककै डेपुटी जनरल मेनेजर ३६ बर्षीय प्रगुण श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रहरीले मंसिर–९ गते काठमाडौं महानगरपालिका–३२, अनामनगरबाट पक्राउ गरेको हो ।
घर्तीसहितको सो समूहले जम्को प्रकाशन प्रा (लि.)लाई २०६७ साल असार–२८ गते व्यवसाय अभिबृद्धि गर्ने बहानामा १ बर्षका लागि १२ करोड रुपियाँ कर्जा प्रवाह गरेका थिए । उनीहरुलाई जम्को प्रकाशनको कारोवार हैसियतको बिश्लेषण नगरी कमशल धितोको अधिक मूल्यांकनसहित बैंकको कर्जा लगानी गरेको अभियोग लागेको छ ।
यसैबीच, प्रहरीले बैंक कसुरको अभियोगमा सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक मदनबहादुर बस्नेतलाई पनि पक्रउ गरेको छ । बस्नेत ललितपुर उपमहानगरपालिका–१३, भनीमण्डल चोक निवासी हुन् ।
उनले सिद्धार्थ डेभलपमेन्ट बैंकबाट शोभा गिरीको नाममा ४ सय ९९ लाखको कर्जा प्रवाह गरेका थिए । बस्नेतलाई मंसिर–६ गते ललितपुर पुल्चोकबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बैंकको कर्जा प्रवाह शाखाबाट लेनदेनका भरमा आफन्तलाई ऋण उपलब्ध गराए पछि नेपाल राष्ट्र बैंकले सोधीखोजी सुरु गरेको हो । किष्ट बैंक खराब सूचीमा छ । सिद्धार्थ बैंक पन खराब सूचीमा छ ।
प्रतिक्रिया