मतपेटिकामा एक पाना कविता

kabitaकाठमाडौं, ११ मंसिर । इतिहास मेटाउँदै इतिहास रच्नेहरू

पहिचान मेटाउँदै पहिचान खोज्नेहरू
देश टुक्राएर एकता खोज्नेहरू

पार्टी फुटाएर बहुमत खोज्नेहरू
…..
आफ्नै स्वार्थ पूरा गर्छन् हामीलाई के गर्‍या छ
यस्ता–यस्तालाई पनि भोट दिएर
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ
यी हरफहरू कुनै कविता कृतिबाट साभार गरिएका होइनन् न त कुनै मूक कविको सिर्जना नै हो । त्यसो भए के हो त ?
कविता भन्न सकिने यी हरफहरू ४ मंसिरमा सम्पन्न दोस्रो संविधानसभा चुनावमा ‘जबरर्जस्त’ सहभागी कुनै मतदाताका सिर्जना हुन् । जसले मतदान त गरे तर मतपत्रसँगै यो कविता मतपेटिकामा खसाल्न पनि बिर्सेनन् । यही कविताले उक्त मतदाताको राजनीतिक दलहरूप्रतिको धारणा झल्काउँछ ।
काठमाडौं क्षेत्र नम्बर ६ को मतपेटिकामा भेटिएको यो कवितामा ‘उद्योगधन्दा बन्द गराएर रोजगार दिन्छु भन्ने’ अनि ‘आफ्नो पार्टीबाहेक अरुलाई मान्छे नगन्नेहरूप्रति’ व्यंग्य गरिएको छ । ‘ठाउँ–ठाउँमा झडप गर्दै सहमति खोज्ने’ अनि ‘ध्वंसात्मक गतिविधि निम्त्याउदै शान्ति खोज्नेहरू’प्रति पनि सिर्जनाका माध्यमबाट व्यंग्य गरिएको छ ।
चुनावमा धाँधली भयो, जनताको मताधिकारलाई अपहरण गरियो भन्नेजस्ता आवाज उठिरहेको बेला ती मतदाताले आफ्नो मतसँगै मतपेटिकामा खसालेको यस सिर्जनामा ‘विनासको भुमरिमा क्रान्ति खोज्नेहरू र समस्याको बीउ रोपी समाधान खोज्नेहरू’प्रति पनि आक्रोश पोखिएको छ । मतपत्रसँग बेरेर सुरक्षित रूपले मतपेटिकामा खसालेको यो कवितामा ‘राम्रो संस्कार मासेर कुसंस्कारलाई निम्त्याउने’ र ‘स्वार्थ पूरा गर्नलाई मरेको संसद ब्यँताउनेहरूको’ उछितोसमेत काडिएको छ ।
‘नेताहरू भुँडी भर्छन् देशलाई के नै गर्छन्, आफ्नै स्वार्थ पूरा गर्छन् हामीलाई के गर्‍याछन्,’ कवितामा भनिएको छ । कवितासँगै खसालेको प्रत्यक्ष्र्फको मतपत्रमा सूर्य चिन्हमा मत हालिएको थियो । त्यसरी मतपत्रसँगै खसालिएको उक्त कविता ‘भोट एउटालाई र सुझाव सबैलाई’ भनेर कोष्ठकभित्र ३ करोड नेपाली भन्ने लेखेर टुंग्याइएको छ । ‘यस्ता–यस्तालाई पनि भोट दिएर मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ,’ कवितामा मार्मिक पाराले भनिएको छ ।’
उक्त क्षेत्रबाट कांग्रसेका भीमसेनदास प्रधान ११ हजार ४३ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका योगेश भट्टराईले ८ हजार ८ सय ८९ र तेस्रो स्थानमा एमाओवादी उम्मेदवार हिमाल शर्माले ४ हजार ७९ मत ल्याएका थिए । राप्रपा नेपालले पनि उक्त क्षेत्रबाट २ हजार ४ सय १६ मत ल्याएको थियो ।

प्रतिक्रिया