संविधानसभामा जान एमाओवादीको सर्त

Maobadi-ka-3-netaकाठमाडौं, ११ मंसिर । एमाओवादीले संविधानसभामा आफ्नो सहभागिताका लागि सर्त अघि सारेको छ । दोस्रो संविधानसभा चुनावमा भोगेको पराजयको समीक्षा गर्न सोमबार बसेको केन्द्रीय समिति बैठकले सर्तसहित संविधानसभामा जाने निर्णय गरेको छ । बैठकले अन्तरिम संविधानमा उल्लेख बहुमत र दुईतिहाईको प्रावधान संशोधन गरी सहमतीय प्रणालीको आधारमा अघि बढे संविधानसभामा सहभागी हुने निर्णय गरेको हो ।

एमाओवादी केन्द्रीय सदस्य खगराज भट्टले संविधान निर्माण र सरकार गठन प्रक्रिया सहमतिका आधारमा अघि बढाउने विषयमा दलहरू सहमत भए संविधानसभामा जाने निर्णय भएको जानकारी दिए । ‘संविधानसभा चुनावमा धाँधली भएको हाम्रो निष्कर्ष हो,’ नेता भट्टले सौर्यसँग भने, ‘धाँधलीको छानबिन गर्न र सहमति प्रक्रिया अघि बढाउन राज्य तयार भए हामी संविधानसभामा जान्छौँ ।’
एमाओवादीले चुनावमा सहभागी नभएका शक्तिहरूको पनि संविधान निर्माणमा सहभागिताका लागि पहल गर्न माग गरेको छ । बैठकपछि एमाओवादीले जारी गरेको विज्ञप्तिमा चुनावमा भएको षड्यन्त्र एवं धाँधलीविरुद्ध सहमत सबै शक्तिसँग संयुक्त मोर्चा निर्माण्ँ गर्ने निर्णयसमेत भएको उल्लेख छ ।
धाँधलीको छानबिन गर्न समिति
चुनावमा भएको धाँधलीको विषयमा छानबिन गर्न पूर्वस्थायी समिति सदस्य वर्षमान पुनको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समितिसमेत गठन गरिएको छ । छानबिन समितिमा पोलिटब्युरो सदस्य रामचन्द्र झा, रामनारायण्ँ बिडारी, खिमलाल देवकोटा र पूर्वसचिव जनकराज जोशी सदस्य छन् । समितिलाई १५ दिनभित्र देशभरका धाँधलीका रिपोर्टहरूमाथि छानबिन गरी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । एमाओवादीले धाँधली छानबिनका लागि उच्चस्तरीय समितिको मागसमेत गरेको छ ।
बैठकले पार्टीको एकताको सातौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र शान्ति तथा संविधान निर्माणको प्रक्रियाप्रति प्रतिबद्ध रहने निर्णयसमेत गरेको छ । पार्टी प्रवक्ता अग्नी सापकोटाका अनुसार संविधानसभा चुनावमा विजयी भएका र पराजय बेहोरेका सबै उम्मेदवारलाई आफ्नो क्षेत्रमा पुगेर जनतालाई धन्यवाद व्यक्त गर्न पार्टीले निर्देशन दिएको छ । यसअघि एमाओवादीले चुनावमा धाधली भएको दाबी गर्दै मतगणना बहिष्कार गरी संविधानसभामा नजाने घोषणासमेत गरेको थियो ।
वैठकले विजयी उम्मेवदारहरूलाई जितेको क्षेत्रमा गएर विजय उत्सव मनाउन निर्देशन दिएको छ । मतगणना भएको राति नै माओवादीले चुनावमा धाधली भएको दावी गर्दै संिवधानसभामा नजाने निर्णय गरेपछि विजयी उम्मेवदारले विजयी जुलुस समेत मनाउन पाएका थिएन् ।
बैठकले सवै केन्द्रिय सदस्य फिल्डमा जाने र चुनावमा पराजयको आन्तरीक र बाह्य रिपोर्ट संकलन गरेर पुसमा बस्ने केन्द्रिय समितीको बैठकमा पेश गर्ने निर्णय गरेको छ । बैठक अब ९ पुषमा बस्ने तय भएको छ ।
वैठकले षडयन्त्र र धाधलीको योजनालाई समयमै पहिचान गर्न नसक्नु पार्टीको तर्फबाट कमजोरी भएको र चुनावमा पराजय बेहोर्नुमा संगठनात्मक कमजोरी पनि रहेको निष्कर्ष पनि निकालेको छ । यसको विस्तृत समिक्षापछि थप कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले चुनावमा पराजय भोग्नुको मुख्य कारण धाधली नै भएको भन्दै पार्टीको संगठनात्मक अवस्था पनि जिम्मेवार रहेको बताएका थिए । एक घन्टा लामो सम्बोधनका क्रममा अध्यक्ष दाहालले नेता–कार्यकर्ताको आचरण र कार्यशैली बिग्रिएको भन्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्ने बताएको एक केन्द्रिय सदस्यले जानकारी दिए । ती नेताका अनुसार दाहालले सहमतीय प्रणालीलाई स्वीकार नगरे संविधानसभामा नजाने जानकारी बैठकमा गराएका थिए ।

प्रतिक्रिया