कञ्चनपुर : जिल्लाका किसानहरुलाई कृषि विकास कार्यालय कञ्चनपुरले ४० क्विन्टल गहुँको बीउ अनुदानमा दिएको छ । गहुँको उत्पादकत्व बढाउन टेवा पुर्याउने उद्देश्यले बीजवृद्धिमा लागेका पाँच वटा कृषक समूह र पाँच वटा कृषि सहकारीमार्फत ५० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराइएको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले जानकारी दिए ।
पुरानो बीउका कारण गहुँको उत्पादकत्वमा ह्रास आउन थालेपछि पुरानो गहुँको बीउलाई विस्थापित गरी नयाँ बीउ प्रसारणमा जोड दिन अनुदानमा बीउ उपलब्ध गराउने व्यवस्था गरेको उनले बताए ।
गहुँ खेतीमा लागेका किसानले पुरानो बीउकै कारण चाहेअनुसार उत्पादन लिन नसकिरहेको उल्लेख गर्दै उनले नयाँ उपलब्ध गराइएको गहुँको बीउ रोगप्रतिरोधीसमेत भएकाले उत्पादकत्वमा वृद्धि हुने बताए । यसैगरी, यहाँका १९ गाविस र भीमदत्तनगरपालिका क्षेत्रका एक सय जना किसानलाई समेत अनुदानमा पाँच किलोका दरले मिनिकिट अन्तर्गत गहुँको बीउ उपलब्ध गराइएको उनले बताए । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३१ हजार सात ५० हेक्टर क्षेत्रफलमा गहुँखेती हुने गरेको छ । आव ०६९/७० मा गहुँको उत्पादन ५५ हजार आठ सय ८० मेट्रिक टन भएको थियो । (सौस)
प्रतिक्रिया