‘धाँधली भए प्रमाण देखाऊ’

Neelkantha-Upretiकाठमाडौं, ९ मंसिर । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभाको निर्वाचन अहिलेसम्मकै निष्पक्ष र धाँधलीरहित भएको जिकिर गरेका छन् । शनिबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त उप्रेतीले कुनै पनि स्थानमा धाँधली भएको छैन र यदी त्यस्तो भए प्रमाण देखाउन चेतावनी दिए । एमाओवादीले निर्वाचनमा धाँधली भएको भन्दै संविधानसभा बहिष्कार गर्ने चेतावनी दिइरहेका बेला प्रमुख आयुक्त उप्रेतीले यस्तो धारणा व्यक्त गरेका हुन् । प्रमुख आयुक्त उप्रेतीले चुनावबारे औंलो नउठाउन पनि एमाओवादीलाई चेतावीन दिए । मुलुकभरि स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न भएको दाबी गर्दै गडबडी भएको प्रमाण देखाउनसमेत चुनौती दिए । ‘एक ठाउँमा पनि धाँधली भएको छैन, तपाईंहरूले कसैलाई एउटा औंलो उठाउँदा बुद्धले भनेजस्तो चारवटा औंला आफूतिर फर्कन सक्छन्,’ एमाओवादीप्रति आक्रामक बन्दै उप्रेतीले भने, ‘एउटा पनि गडबडी भएको छैन, त्यस्तो देख्नुभएको छ भने प्रमाण लिएर आउनुस् ।’

प्रहरी कार्यालयमा मतपेटिका भेटिएको विषयमा सोधिएको प्रश्नमा उप्रेतीले भने । ‘आयोगले निर्वाचन सामग्री मतदान हुने स्थलनजिक सुरक्षा निकायकै पहलमा मतपेटिका राख्ने प्रचलन पुरानै हो, मतपेटिका पसलमा राख्न नमिल्ने भएकाले सरकारी भवन र सुरक्षा निकायका कार्यालयमै राखिन्छ ।’ मतदान र मतगणना कार्य दलका प्रतिनिधिहरूकै रोहवरमा, उनीहरूलाई देखाएर र उनीहरूको हस्ताक्षरका आधारमा मात्रै गरिएकाले धाँधली भएको आरोप लगाउनुको कुनै तुक नभएको उनको तर्क थियो ।
निर्वाचन प्रक्रियाप्रति चित्त नबुझे संविधानसभा अदालतमा उजुरी गर्न पनि प्रमुख आयुक्त उप्रेतीले एमाओवादीलाई चुनौती दिए ।
राजनीतिक दलहरूसमेतको सहभागितामा तर्जुमा भएका निर्वाचनसम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित विधि, प्रक्रिया र मापदण्डको उच्चतम् परिपालन गरी निर्वाचनको व्यवस्थापन गरिएको उनको भनाइ थियो । ‘मतदानस्थलबाट निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहवरमा सिलबन्दी गरिएका मतपेटिका उहाँहरूसमेतको सहभागितामा सुरक्षित रूपमा सदरमुकामस्थित मतगणना स्थलमा ल्याइएको हो,’ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने,’ ‘केही सञ्चारमाध्यमबाट भइरहेका भ्रमपूर्ण प्रचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले यस्तो भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आममतदाता र सबै सरोकारवालालाई अनुरोधसमेत गरे । ‘मतदान व्यवस्थापनको विश्वसनीयता, निष्पक्षता र पारदर्शिताका लागि मतसंकेत गर्ने गोप्य स्थानबाहेक सबै प्रक्रियामा दल तथा उम्मेदवारको प्रतिनिधि, पर्यवेक्षक एवं सञ्चारकर्मीको पहुँच रहेको हुन्छ,’ उनले भने, ‘त्यति मात्र होइन, मतगणनाको नतिजा नियमित अन्तरालमा सार्वजनिक गरिएको हुँदा निर्वाचनको अक्षुण्णता, स्वच्छता र निष्पक्षतामा विश्वास गर्न आग्रह गर्दछु ।’
त्यसैगरी, उनले मतपेटिकालाई मतदानकेन्द्रमा प्रयोग गर्नुपूर्व सम्बन्धित मतदानकेन्द्रमै राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिको रोहवरमा रित्तो मतपेटिका देखाएको, मतपत्र खसाल्ने प्वाल मात्र खुला राखी सुरक्षण सिल लगाउन बााकी सबै ठाउँमा सुरक्षण सिल लगाई मतपेटिका बन्द गरिएको र प्रत्येक सुरक्षण सिलमा उल्लेख भएको छुट्टाछुट्टै नम्बर खुलेको मुचुल्का तयार गरी राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूले समेत हस्ताक्षर गर्ने व्यवस्था गरिएकोले पनि धाँधलीको कुनै सम्भावना नरहेको तर्क गरे । ‘त्यस्तो सिल नम्बर सम्बन्धित मतदान अधिकृतले आफ्नो पोलबुकमा टिपोट गर्ने गरेको, मतदान सम्पन्न भइसकेपछि मतपत्र खसाल्ने प्वाल बन्द गरेको सिल नम्बर उल्लेख भएको मुचुल्का राजनीतिक दल एवं उम्मेदवारका प्रतिनिधिले समेत दस्तखत गरी मतपेटिका बन्द गर्ने व्यवस्था गरिएको हुनाले धाँधलीको कुनै शंका छैन,’ उप्रेतीले भने । मतगणना सुरु गर्नुपूर्व मतपेटिका सिल गरिएको सुरक्षण सिलको नम्बरसमेत रुजु गरी राजनीतिक दल तथा उम्मेदवारको रोहवरमा मुचुल्का गरी यकिन भएपछि मात्र मतपेटिका खोली गणना गर्ने प्रबन्ध मिलाइएको उनको भनाइ थियो ।
उनले निर्वाचन प्रयोजनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक करोड ४९ लाख ५२ हजार र समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सोही संख्यामा मतपत्र छपाई गरिएको जानकारी गराए ।
‘सम्बन्धित मतदानकेन्द्रमा रहेको मतदाता संख्यामा ५० थान थप मतपत्र जगेडाका लागि पठाइएको थियो,’ उनले भने, ‘मतदानमा प्रयोग भई बाँकी रहेका सबै मतपत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा राखिएको छ ।’

प्रतिक्रिया