दलका प्रतिनिधीको रोहबरमा निर्वाचन: आयोग

Neelkantha-Upretiकाठमाडौं, ८ मंसिर । निर्वाचन आयोगले मतदान सञ्चालन, मतपेटिका संकलन र मतगणना व्यवस्थापन पारदर्शी रहेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आज (शनिबार) आयोगको कार्यलय कान्तिपथमा पत्रकार सम्मेलन गरेर सहभागितामूलक, स्वच्छ, निष्पक्ष र विश्वसनीयरुपमा निर्वाचन सम्पन्न गरेको बताए । उनले निर्वाचनको निष्पक्षतामा विश्वस्त रहन आग्रह गरे ।

उनले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न भएको दोहर्‍याएको छ । उनले निर्वाचनका विषयमा विश्वस्त रहन पनि आग्रह गरेका छन् ।

उप्रेतीले मतदानस्थलबाट दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहवर र सहभागितामा सिलबन्दी गरिएका मतपेटिकाहरू सुरक्षितरुपमा सदरमुकामस्थित मतगणना स्थलमा ल्याएको बताए ।

‘मतगणना स्थलमा समेत सिलवन्दी मतपेटिकाको पुन: जाँच गरी मत गणना कार्य अगाडि बढेपछि केही राजनीतिक दलबाट निर्वाचनको निष्पक्षतामा प्रश्न उठाइनु दु:खद हो,’ उनले भनेका छन्, ‘केही सञ्चारमाध्यमबाट भइरहेका भ्रमपूर्ण प्रचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले दलका प्रतिनिधीसहितको रोहवरमा भएका निर्वाचन कार्यलाई अनावश्यक भ्रमफैलाउने गरेर प्रचार प्रसार नगर्न आग्रह गरे ।

उप्रेतीले संवेदनशील सामग्रीहरू मतपत्र, मतपेटिका, सुरक्षण सिल, नउड्ने मसी, स्वतिक छाप, निर्वाचन निर्देशिका बमोजिमका अनुसूची फारामहरूको सुरक्षणमा ध्यान दिएको बताए । निर्वाचन कार्य ऐन कानून बमोजिम भएको उनको भनाई थियो ।

यसैबीच, आयोगले तोकेको योग्यता पुगेका सबै नेपाली नागरिकलाई दर्ता प्रक्रियामा समेट्ने जनाएको छ । उसले मतदाता दर्ताको कामलाई २०६७ सालदेखि बाह्रै महिना खुला गर्ने जनाएको छ ।

प्रतिक्रिया