सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न

Matabada-Dhangadi-2070धनगढी, ५ मंसिर । मंगलबार दोस्रो पटक भएको संविधानसभा सदस्य निर्वाचनको मतदान सुदूरपश्चिमका ९ वटै जिल्लामा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । बन्द र धम्कीका बाबजूद पनि मतदाताहरुले बिहानैदेखि आ आफ्नो मतदान केन्द्रमा मत खसालेका थिए ।

मतदान सुरु हुनु ७ बजे अघि ६ बजेदेखि नै मतदाताहरु लाइनमा वसेका थिए । निर्वाचन आयोगले यसपटक फोटोसहितको रंगिन मतदाता परिचयपत्र उपलब्ध गराएको र बिगत भन्दा यसपटक मतदान केन्द्र पनि ब्यवस्थित भएकाले मतदान गर्न धेरै सजिलो भएको मतदाताहरुको भनाइ थियो । सुदुर पश्चिमका ९ वटा जिल्लामा गरी २१ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
बिगत जस्तो यसपटकको चुनावमा दलका नेता कार्यकर्तामा कुनै आक्रोस देखिएन । मतदानमा सबै कुरा ब्यवस्थित भएका कारण मतदान गर्ने अवधि साझ ५ बजेसम्म रहेपनि अधिकांस मतदान केन्द्रमा दिउँसो ३ बजे अगावै मतदानको प्रक्रिया सकिएको थियो । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी नारायण बस्ताकोटीले नौ जिल्लामा गरी ७० देखि ७५ प्रतिशतसम्म मत खसेको प्रारम्भीक अनुमान रहेको बताए ।
कैलाली र कञ्चनपुरमा ८० प्रतिशतसम्म तथा पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लामा ७० प्रतिशत बढी मत खसेको प्रारम्भीक खबर आएको डिआइजी बस्ताकोटीले जानकारी दिए ।
‘छिटपुट रुपमा सामान्य घटना बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सकियो,’ डिआइजी बस्ताकोटी भने, ‘धमाधम मतपेटीका सदरमुकामस्थित मतगणनास्थलतर्फ ल्याउने काम भइरहेको र मंगलबारर बेलुकासम्ममा सबै मतदान केन्द्रका मतपेटीका ल्याइ सकिने छ ।’ उनले यातायात सुविधा नपुगेका तथा भौगोलिक हिसावले विकटमा रहेका मतदान केन्द्रका मतपेटीका ल्याउन हेलिकप्टर पनि प्रयोग गरिएको बताए ।
९ वटै जिल्लाका हरेक मतदान केन्द्रमा स्वदेशी तथा विदेशी पर्यवेक्षकले मतदानको पर्यवेक्षण गरेका थिए । उनीहरुले यो चुनावमा मतदाताले झन्झटरहित तवरले मतदान गर्न पाएको बताएका छन् ।
मतदान केन्द्रमा बृद्धबृद्धा, अशक्त, अपांगता भएका तथा गर्भवतिलाई लाइनमै नबसी सरासर मतदान गर्ने ब्यवस्था मिलाइएको थियो । कैलाली र अछाम जिल्लालाई सुरक्षाको दृष्टिकोणले निर्वाचन आयोगले उच्च संवेदनशिलमा राखेको भएपनि मतदान अवधिभर यी जिल्लामा कुनै पनि अप्रिय घटना नघटेको प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच कैलालीमा २ सय १७ मतदानस्थलका ४ सय ८२ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भयो । मंगलबारै सबै मतदान केन्द्रबाट मतपेटीका धनगढी ल्याइसकेको कैलालीका मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले बताए ।
उनले हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ५५ देखि ८७ प्रतिशतसम्म मत खसेको बताए । ६ वटै निर्वाचन क्षेत्रमा गरी कैलालीमा ३ लाख ३३ हजार ६ सय ६१ मतदाता रहेका थिए । ३९ दलका १ सय ५२ तथा क्षेत्र नंम्वर ४ मा १ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
उत्साही हुदै मतदान गर्न पुगेका हरेकले यसपटक आफ्नो मतको कदर हुने बताएका थिए । नेताहरुले चुनाव जितेर गएपछि वर्तमान संक्रमणकालको अन्त्य हुने र आफूहरुले संविधान पाउने आसाका साथ मतदान गर्न आएको गेटा ८ झलारीका १ सय १ वर्षीय लवराज रानाले बताए । रानाले गेटाको राजपुरस्थित जनता राष्ट्रिय माविमा मतदान गरेका थिए ।
हरेक केन्द्रबाट सुरक्षित तवरमा मतपेटीका ल्याउने काम भइसकेकोले मंगलबार बाट नै मतगणना सुरु हुनेछ । कैलालीमा मतगणनाका लागि धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र र जिल्ला अदालतलाई मतगणनास्थल तोकिएको छ । क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा क्षेत्र नंम्वर १, २ र ३ को तथा अदालतमा क्षेत्र नंम्वर ४, ५ र ६ को मतगणना हुने मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

प्रतिक्रिया