‘चुनाव शान्तिपूर्ण’

काठमाडौं : गृह मन्त्रालयले दोस्रो संविधानसभा चुनाव मंगलबार देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
गृहसचिव जनार्दन नेपालले मंगलवार साँझ पत्रकार सम्मेलन गरी शान्तिपूर्वक मतदान भएको दाबी गरे । ‘चुनाव देशैभर शान्तिपूर्वक भएको छ,’ गृहसचिव नेपालले भने, ‘अप्ठेरो परिस्थितिमा चुनाव गर्नुपर्ने थियो । हामी जिम्मेवारी पूरा गर्न सफल भएका छौँ ।’
नेपालका अनुसार देशभर ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । ‘अहिले दुई तिहाई मत खसेको अनुमान छ,’ उनले भने, ‘तर अन्तिम सूचना आउँदासम्म त्यो अझै बढेर जाने देखिन्छ ।’
उनले रोल्पाको थवाङमा शून्य मतदान नभएको दावीसमेत गरे । सुरुमा कोही नआए पनि पछि स्थानीय प्रशासनको सहकार्यमा केही मत खसेको उनको दाबी छ ।
गृह प्रवक्ता शंकरप्रसाद कोइरालाले जुम्लाको झारजलास्थित त्रिभूवन उच्च मावि मतदान केन्द्रमा मात्रै मतदान स्थगित भएको जानकारी दिए । उनले देशभरबाट ३७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिँदै चुनावी झडपका घटनामा २५ घाइते भएको जानकारी दिए । (सौस)

प्रतिक्रिया