‘अन्तिम घडीमा रातदिन नभनी काम गर्नुस्’

Khilraj-Regmiकाठमाडौं, ३ मंसिर । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले भोलि मंगलबार हुन लागेको संविधानसभा निर्वाचनको मतदान कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आफ्नै सरकारी निवास बालुवाटारमा आज (सोमबार) बिहान भएको सुरक्षा स्थितिको समीक्षा बैठकमा रेग्मीले देशभरिका मतदान केन्द्रहरुमा मतदाताहरुलाई निश्चिन्त र ढुक्क भई निर्भिकतापूर्वक मतदान गर्ने वातावरणको प्रत्याभूति बनाउन आग्रह गरेका हुन् । ‘निर्वाचनको यो अन्तिम घडीमा रातदिन नभनी काम गर्नु होस्,’ उनले भने ।

बहिष्कारवादी समूहले गर्नसक्ने अवरोधको स्थितिलाई सामना गरी त्यस्ता गतिविधिलाई पूर्ण रुपमा निस्तेज पार्ने र निर्वाचनविरोधी गतिविधि हुन नदिन आग्रह गरेका रेग्मीले भने, ‘अवलम्बन गरिँदै आएको कानूनबमोजिमको कारबाहीलाई निरन्तरता दिनुस् ।’

रेग्मीले निर्वाचनको मतदान कार्यक्रम सम्पन्न गरी मतपरिणाम सार्वजनिक नभएसम्म देश र जनताको सुरक्षाका लागि अहोरात्र खटिनुपर्ने अवस्था रहेको भन्दै आवश्यक पर्ने सुरक्षा प्रबन्धको व्यवस्थापनका लागि हरक्षण तयारी अवस्थामा रहन मातहतका अधिकारीलाई निर्देश गर्न पनि सुरक्षा निकायका प्रमुखहरुको ध्यानाकर्षण गराए ।

बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, प्रधानसेनापति गौरब शम्शेर जबरा, गृहसचिव जनार्दन नेपाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङलगायत सुरक्षासँग सम्बद्ध अधिकारीहरु उपस्थित रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया