ठूला नेताको निर्देशनमा हिंसात्मक घटना : गृहमन्त्री

काठमाडौं, ३ मंसिर । गृहमन्त्री माधवप्रसाद घिमिरेले ठूला नेताहरुको निर्देशनमा हिंसात्मक घटना भएको पाइएको बताएका छन् ।

गृहमन्त्री रेग्मीले आइतबार मन्त्रालयमा पत्रकारसग हिंसात्मक घटनाको विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै यस्तो दाबी गरेका हुन् । मन्त्री घिमिरेले हिंसात्मक घटनामा ठूला नेताहरुको संलग्नता रहेको बताए पनि नाम भने खुलाएनन् । नेकपा–माओवादी नेतृत्वको असन्तुष्ट पक्षले यातायात बन्द गराएपछि बम विस्फोट, गाडी तोडफोड तथा आगजनीका घटना भइरहेका छन् ।
‘ठूला नेताहरुको आदेशमा यस्ता घटना भएको देखिएको छ,’ मन्त्री घिमिरेले पत्रकारसग भने, ‘निश्चित भएपछि ठूला नेताहरुलाई पनि पक्राउ गर्छौं ।’
आपराधिक गतिविधिमा संलग्न दोषीहरुलाई पक्राउ गरिसकेको जानकारी दिदै उनले पक्राउ परेकाको बयानका आधारमा दोषी नेता वा समूहलाई पक्राउ गरी कारबाही गर्न आदेश भइसकेको बताए । ‘आपराधिक कार्य गराउन आदेश दिने नेता वा समूहलाई कारबाही गर्न आदेश भएको छ,’ उनले भने, ‘हिंसा मच्चाउने जो भए पनि कारबाही हुन्छ ।’
उनले चुनावको बेला मतदातामा त्रास उत्पन्न गराउने समूहलाई कारबाही गर्ने चेतावनीसमेत दिए । केही दल र समूहले अमानवीय, घृणित र आपराधिक कार्य गरेको उनले बताए ।
उनले यही ४ मंसिरमा हुन लागेको दोस्रो संविधानसभा चुनावको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले मतदातालाई घरदेखि मतदान केन्द्रसम्म र भोट खसालीसकेपछि घरसम्म सुरक्षित रुपमा पुग्न सक्ने सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

प्रतिक्रिया