एमाओवादीद्वारा शिक्षकको घरमा आगजनी

Nepali Congressगोरखा, २ मंसिर । एमाओवादीका कार्यकर्ताले गोरखामा कांग्रेसका क्रियाशील सदस्य एवं शिक्षक संघका पूर्व सचिव तारा पुडासैनीको घरमा आगजनी गरेका छन् ।

तान्द्राङ–१, टारीफाँटमा रहेको पुडासैनीको घरमा शनिबार मध्यराति एमाओवादीका कार्यकर्ताले आगजनी गरी क्षति पुर्‍याएका हुन् । एमाओवादीका गोरखाका ईञ्चार्ज कृष्ण धितालको नेतृत्वमा आएका १५/२० जनाको समूहले घरमा आगजनी गरेको पुडासैनीले जानकारी दिए ।

आगजनी पछि शिक्षक पुडासैनीको घरका सामान पूर्ण रुपमा जलेर नष्ट भएका छन् । पुडासैनी गण्डकी उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन् ।

त्यस्तै एमाओवादीका कार्यकर्ताले कांग्रेस धावा गाउँ इकाई समितिका उपसभापति शिवप्रसाद लामिछानेलाई निर्घात कुटपिट गरेका छन् । १५/२० जनाको समूहमा आएका एमाओवादीका कार्यकर्ताले कुटपिट गर्दा लामिछाने गम्भीर घाईते भएका छन् ।

लामिछानेको टाउकोमा गम्भीर चोट लागेको धावा गाउँ इकाई समितिका सभापति जानकी बञ्जराले जानकारी दिए ।
उता, इलाममा एमालेका कार्यकर्ताको आक्रमणमा परेर कांग्रेसका तीन कार्यकर्ता घाईते भएका छन् । साईड नदिएको विषयमा विवाद हुँदा नामसालिङ–३ मा एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई आक्रमण गरेका हुन् । झडपमा एमालेका कार्यकर्ता पनि घाईते भएका छन् ।

घाईते हुनेमा कांग्रेस कार्यकर्ता नामसालिङ–३ का रामकुमारी प्रधान, दीपक प्रधान तथा नाम्सालिङ–४ का काशीनाथ तिम्सिना रहेका छन् ।

कांग्रेस कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा एमालेका याम अधिकारी, भीमराज लिम्बू, ठाकुर लिम्बू, संघर्ष लिम्बू, जुएल राई, सन्जीव राई, नृप राई र बिराज देवान बिरुद्ध किटानी जाहेरी दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया