भक्तपुर, २ मंसिर । भारतमा नुन अभाव र महँगो भएको हल्ला चलेसंगै भक्तपुरमा नुन र चिनीमा कालो बजारी सुरु भएको छ ।
भक्तपुरका खुद्रा व्यापारीले प्रतिकिलो १३ रुपिँया पर्ने नुन व्यापारीले २० देखि २५ रुपिँया सम्ममा बिक्री गरेका छन् । त्यसैगरी ६८ रुपिँया प्रतिकिलो पर्ने चिनी यहाँका व्यापारीले प्रतिकिलो ८५ रुपिँया मा बिक्री गरिरहेका छन् ।
प्रशासन तथा सरकारी निकाय मंसिर ४ को निर्वाचनमा केन्द्रित भएपछि बजार अनुगमनसमेत ठप्प हुँदा यहाँका व्यापारीले नुन र चिनीमा व्यापक कालोबजारी गरेको हुन् । भक्तपुर बालकोटका व्यापारी सुमन श्रेष्ठले पसलमा भएको पाँच बोरा नुन एकैदिनमा सकिएको बताए । नुनको अभाव भएको हल्ला चलेपछि एकैदिन पाँच बोरा नुन सकिएको बताए । नुन अभावको हल्ला चलेपछि उपभोक्ता एकैजनाले १० किलोसम्म नुन लगेको र नुन लिनेको भिड लागेको बताए ।
पसलमा शनिबारदेखि बिक्री गर्ने नुन नभएको बताउँदै खुद्रा व्यापारीले एक किलो नुन हिजो अपराह्नदेखिनै २० मा बिक्री गर्न थालेको उनको भनाई छ । मध्यपुरथिमिका किराना व्यापारी अभिषेक प्रजापतिले नुन र चिनीको अभाव भएको बताए । नुन र चिनी अभावको हल्ला भए लगत्तै उपभोक्ताको घुइचो भएकाले अभाव सिर्जना भएको बताए । आफूले पनि हिजो साँझ चिनी र नुन महँगोमा ल्याएकाले शनिबार आफ्ना नियमित ग्राहकलाई मात्र नुन र चिनी महँगोमै बिक्री गरेको बताए । चिनीप्रति किलो ८५ रुपिँया र नुन प्रतिकिलो २५ रुपिँयामा बिक्री गरेको बताउँदै स्टक पनि सकिएको बताए ।
भक्तपुर नगरपालिकाका सुकुलढोका किराना पसलका सञ्चालक अमरनाथ धौबञ्जारले नुन र चिनीको अभाव भएपछि नुन प्रतिकिलो २२ रुपिँया र चिनी प्रतिकिलो ८० रुपिँयामा बिक्री गरेको बताए । बजारमा नुन र चिनीको अभाव छ, खुद्रा व्यापारीले भन्दा पनि होलसेल व्यापारीलेनै सामान नदिएकाले पनि समस्या आएको उनको भनाई थियो ।
कमल विनायक मूलढोकाका उपभोक्ता सुमन कार्कीले बजारमा नुन र चिनीको व्यापारीलेनै कृत्रिम अभाव सिर्जना गरेको बताए । उनले भने– ‘बढी मूल्य तिर्छु भने नुन र चिनी दिन्छन् पुरानै मूल्यमा भए छैन भन्छन्, उपभोक्ता चरम मारमा परेका छन् ।’
सूर्यविनायकका उपभोक्ता प्रविण थापाले बजारमा व्यापारीले कृत्रिम अभाव सिर्जना गरेको र उपभोक्ताले समेत अभावको हल्लाले धेरै मात्रामा नुन र चिनी लैजाने गरेपनि अभाव भएको बताए । ‘नुन र चिनीको पसलै पिच्छे मूल्य फरक छ, यतिखेर बजार अनुगमन गर्ने हो भने व्यापारीको गोदाममा नुन र चिनी पाइन्छ ।’ उनले भने । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने सबै निकाय निर्वाचनमा केन्द्रित भइसकेकाले बजार अनुगमनमा समस्या आएको जनाएको छ ।
प्रतिक्रिया