चुनाव आर्थिक विकासको प्रस्थान बिन्दु : अर्थमन्त्री

काठमाडौं, २ मंसिर । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले संविधानसभाको चुनाव आर्थिक विकासको प्रस्थान विन्दु भएकाले सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मुलुकको अर्थतन्त्र बिग्रन नदिई निर्वाचित सरकारलाई सबल अर्थतन्त्र जिम्मा लगाउनु यो सरकारको कर्तव्य भएको बताए । दोस्रो कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले गरेको कार्यक्रममा मन्त्री कोइरालाले राजनीतिक र व्यावसायिक क्षेत्रमा संकट आएपनि राजश्व अभियान तीब्र भएको भन्दै उनले करको दायरा विस्तार गर्न कार्यपद्दतिमा सुधार ल्याउन नीतिगत, प्रक्रियागत र कानुनी सुधारमा सरकार लागेको स्पष्ट गरे । उनले कर र भन्सारप्रति जनमानसको हेर्ने दृष्टिकोण गलत भएकाले त्यो छवि सुधार्न कर्मचारीहरुको आचरणमा परिवर्तन ल्याउन आवश्यक भएको बताए । ‘करदाताका धेरै समस्यालाई बजेटले सम्बोधन गरेको छ । ईंटा व्यावसायी र सञ्चारकर्मीलाई पनि करको दायरामा ल्याउने प्रयास भएको छ ।’ उनले भने–‘यससंगै शिक्षित करदाता बढाउने अभियान थालिएको छ ।’ करदाता र कर प्रशासकबीच समस्या समाधान गर्ने मैत्रीपूर्ण व्यवहार सरकारको लक्ष्य रहेको उनको भनाई थियो ।

घरैमा बसेर कर तिर्ने र कार्यालयमा कागजबिहीन प्रशासनको परिकल्पना गरिएको भन्दै मन्त्री कोइरालाले केही वर्षभित्रै त्यो उद्देश्य पूरा हुने बताए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले कर तिराउने हैन, कर तिर्नेहरुको आयको क्षमता बढाउने तर्फ वित्तिय र मौद्रिक प्रयासको थालनी आवश्यकता भएको बताए । उनले मुलुकको अर्थतन्त्र आयातमुखी रहेकाले गैर करका राजश्व नबढाएसम्म अर्थतन्त्र गतिशिल हुन नसक्ने स्पष्टपारे ।
अर्थ सचिव शान्तराज सुवेदीले देशको जनसंख्या अनुसार कम्तिमा १३ लाखको संख्या करको दायरामा आउनुपर्नेमा त्यो संख्या १० लाखमा सीमित रहनुले सन्तोष गर्ने ठाउँ नभएको भन्दै यस विषयमा निजीक्षेत्र सम्बेदनशिल हुनुपर्ने बताए । उनले भ्याटको कारोवार शुरु भएको डेढ दशक वित्दा पनि त्यसबाट अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको भन्दै भ्याटमा दर्ता हुने तर विवरण नबुझाउने क्रम बढेकोमा चिन्ता व्यक्त गरे ।
‘चुनावमा ५० अरबभन्दामाथि खर्च भएको छ । तर त्यसलाई करको दायरामा ल्याउन सकिएको छैन् ।’ अर्थ सचिव सुवेदीले भने– ‘कर दिवसको औचित्य पुष्टि तबमात्र हुन्छ, जब अंकमा त्यसको परिणाम देखिन्छ ।’ नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यात र उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले सामाजिक उत्तरदायित्वसहितको व्यवसायलाई निजीक्षेत्रले प्रोत्साहित गरेको भन्दै निजीक्षेत्रको आवाजलाई सरकारले सम्मान गरेको भन्दै खुसी व्यक्त गरे । आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले व्यावसायिकताको उच्च नैतिकता प्रदर्शन गर्न निजीक्षेत्रलाई आग्रह गर्दै विभाग धम्क्याएर हैन, फकाएर करको दायरा बढाउन क्रियाशील रहेको बताए । सो अवसरमा सर्वाधिक कर बुझाउने नेपाल दूर सञ्चार लिमिटेड, सूर्य नेपाललगायतका संस्थाहरुलाई सम्मान गरिएको थियो । यसैगरी कर क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत विभागका पूर्व महानिर्देशकहरु अवनिन्द्र श्रेष्ठ, दीप बस्न्यात, रणबहादुर श्रेष्ठ र विभागमा कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया