राजनीतिक विषयमा नबोल : माओवादी

pampha bhusalकाठमाडौं, २ मंसिर । नेकपा–माओवादीले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजनीतिक विषयमा बोल्ने कुनै अधिकार नरहेको जनाएको छ ।

नेकपा–माओवादीले आयोगको काम निर्वाचन गराउने, निर्वाचनका लागि आवश्यक दैनिक कार्य र वातावरण बनाउने काम मात्रै भएको जनाएको हो । उसले अनावश्यक बोल्दा उप्रेती आफै फस्ने नेकपा–माओवादीको चेतावनी छ ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले शनिबार काठमाडौंमा नेकपा–माओवादीलाई लक्षित गरेर ‘आतंककारी’को संज्ञा दिए पछि प्रवक्ता पम्फा भुसालले आयोगले राजनीतिक विषयमा बोल्ने अधिकार नरहेको जनाएकी हुन् । सामुदायिक रेडियो साझेदारी संयन्त्रसँग कुरागर्दै प्रवक्ता भुसालले उप्रेतीलाई आफ्नो मर्यादा र गरिमामा बस्न सुझाव दिईन् ।
‘नीलकण्ठ उप्रेतीजी आफ्नो हैसियत, गरिमा र मर्यादामा बस्नु पर्छ,’ उनले भनिन्, ‘राजनीतिक विषयमा बोल्ने अधिकार उप्रेतीजीलाई छैन ।’
प्रवक्ता भुसालले प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आयोगभित्रको कमिसनको खेललाई लुकाउन नेकपा–माओवादीलाई बद्नाम गराउन सक्रिय रहेको आरोप लगाइन् । उनले भनिन्, ‘निर्वाचन आयोग भित्र भएको भ्रष्टाचार र अनियमितता लुकाउने उप्रेतीले हामीलाई ना–नाभाँतीको आक्षेप लगाएका छन् ।’
उप्रेती भारतीय गुप्तचर संस्था ‘रअ’को डिजानइन प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएको दाबी पनि लगाईन् । ‘भारतीय गुप्तचर संस्था ‘रअ’को डिजाइनमा नीलकण्ठ उप्रेती प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका हुन्,’ उनले भनिन्, ‘मालिकलाई खुसी बनाउने उप्रेतीको दायित्व पनि छ ।’

प्रतिक्रिया