राष्ट्रसंघ उत्साहित

काठमाडौ : संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुनले विविध चुनौतीका बावजुद प्रतिबद्धता र व्यावसायिकताका साथ सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरू निर्वाचन प्रक्रियामा सहभागी भएकामा आफू उत्साहित भएको बताएका छन् ।
महासचिवका तर्फबाट उनका प्रवक्ताले शुक्रबार न्यूयोर्कमा जारी गरेको विज्ञप्तिमा आगामी मंगलबार हुने संविधानसभा निर्वाचनको तयारीलाई महासचिव मुनले निकटबाट नियालिरहेको उल्लेख गरिएको छ । । ‘अधिकांश चुनावी अभियान शान्तिपूर्ण एवम् लोकतान्त्रिक नेपालको भविष्यप्रतिको प्रतिवद्धताका साथ स्वतन्त्र र खुल्ला प्रतिस्पर्धाको भावनाअनुरूप सम्पन्न भएका छन्,’ विज्ञप्तिमा विश्वव्यापी लोकतान्त्रिक अधिकारअनुसार चुनावका दिन हिंसा र त्रासरहित वातावरणमा स्वतन्त्र ढंगले मतदाताले आफ्नो अभिमत व्यक्त गर्ने विश्वास गरिएको छ ।
महासचिव वानले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न र अहिलेसम्म भएका प्रशंसनीय उपलब्धिका आधारस्तम्भमा संविधान निर्माण गर्न अत्यावश्यक प्रयासहरू दोब्बर गर्न सरोकारवाला पक्षलाई आग्रह गरिएको छ । शान्तिपूर्ण, समृद्ध र लोकतान्त्रिक भविष्यको मार्गमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता पनि विज्ञप्तिमा उल्लेख छ । (सौस)

प्रतिक्रिया