काठमाडौ, १ मंसिर । एमाओवादीले निर्वाचन आचारसंहिता तथा निर्वाचन कसुर र सजाय ऐन विपरीत कार्य भएको भन्दै नेकपा (एमाले)ले शुक्रवार निर्वाचन आयोगमा उजुरी दिएको छ । एमालेका पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निर्वाचन आयुक्तद्वय दोलखबहादुर गुरुङ र ईला शर्मालाई भेटी त्यस्तो कार्यमा संलग्न व्यक्ति वा उम्मेदवारलाई प्रचलित कानूनबमोजिम कारबाही गर्न गराउन पनि अनुरोध गरेको छ ।
वैतडी, सिन्धुली,रुकुम लगायतका जिल्लामा एमाओवादीले आफना उम्मेदवार र कार्यकर्तामाथी आक्रमण गरेको विषयमा पनि एमालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमालेले देशव्यापीरुपमा एमाओवादीका कार्यकर्ताहरुले निर्वाचनको वातावरण बिथोल्ने, आचारसंहिताको उल्लङ्घन गर्ने, निर्वाचन कसुर र सजाय ऐनद्वारा परिभाषित कसुरमा संलग्न हुने कार्यमा लागेको हुनाले आयोगबाटै सम्बन्धित क्षेत्रका सुरक्षाकर्मी, स्थानीय प्रशासन र निर्वाचन अधिकृतको कार्यालयमार्फत आवश्यक कानूनी कारबाही अबिलम्व अघि बढाउन माग गरेको छ । आयुक्त गुरुङले आचारसंहिता विपरीतका घटना र एमालेले दिएको उजुरीका आधारमा सबै घटनाबारे गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक कारबाही गर्ने विश्वास दिलाएको सदस्य शाक्यले जानकारी दिइन् ।
प्रतिक्रिया