जित सुनिश्चित भएपछि मुलुक भरि आक्रमण

umlकाठमाडौं, २८ कात्तिक । एमालेले आफ्ना नेता तथा कार्यकर्ता माथि सुनियोजित रुपमा आक्रमण हुन थालेको जनाएको छ ।

पार्टी मुख्यालय बल्खुमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा नेताहरुले आफ्ना पक्षमा जनलहर उर्लिएपछि पार्टीविरुद्ध सुनियोजित र हिंसात्मक आक्रमणका घटना हुन थालेको आरोप लगाए ।

एमालेले आचारसंहिता विपरित एमाओवादीले मतदातालाई खरिदविक्रीको विषय बनाउने गरेको आरोप लगाएको छ । ‘एमाओवादीले हेलिकोप्टर सयर गरेर भड्किलो प्रचारशैली अपनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले आयोग र सरकारका क्रियाकलापबाट चित्त दुखाएको छ । ‘आचार संहिता उल्लंघनका विषयमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउँदा पनि नसुनेनको गर्छ,’ एमालेले भनेको छ ।

महासचिव ईश्वर पोखरेलले नेकपा–माओवादीलाई हिंसात्मक घटना त्याग्न सुझाव दिए । उनले भने, ‘आपराधिक घटनालाई जुनसुकै आडमा गरिएको भएपनि त्यसको निन्दा हुनुपर्छ ।’

नेता प्रदीप नेपालले एमाओवादीले मोरङ क्षेत्र ९ र काठमाडौं क्षेत्र नम्बर २ मा मतदाता खरिदका लागि पैसा दिन थालेका प्रमाण आफूहरुसँग रहेको बताए । उनले भने, ‘मतदातालाई खरिद विक्री गर्न थालेको प्रमाण एमाले समक्ष आईपुगेको छ ।’

प्रतिक्रिया