यस्तो छ आयोगको तयारी

Elecatation Commisationकाठमाडौं, २८ कात्तिक । निर्वाचन आयोगले ४ मंसिरमा हुने संविधानसभाको दोस्रो चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार २ लाख १५ हजार तालिमप्राप्त कर्मचारी खटिइसकेका छन् ।

आयोग परिसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावको तयारीबारे जानकारी दिएका हुन् । ‘स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा विश्वसनीय चुनावका लागि आयोगले सम्पूर्ण दल र उम्मेदवारलाई सामान खेल–मैदान तयार पारेको छ,’ प्रमुख आयुक्त उप्रेतीले भने, ‘फोटोसहितको परिचयपत्रका आधारमा मतदाताले ढुक्क भएर मतदान गर्ने अवस्था सिर्जना भएको छ ।’ मताधिकार प्रयोग गर्न पाउने जनताको नैसर्गिक अधिकारको सम्मान गर्न र सहयोग पुर्‍याउन उप्रेतीले चुनावी प्रक्रियाप्रति असहमत पक्षलाई आग्रह गरेका थिए ।
उप्रेतीले १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाताको परिचयपत्र, रंगीन तस्बिरसहितको मतदाता नामावली सबै जिल्ला सदरमुकाममा पठाइसकिएको पनि जानकारी गराए । ‘पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि हल्का नीलो र समानुपातिक प्रणालीका लागि हल्का रातो रंगको ३ करोड मतपत्र, आवश्यक संख्यामा मतपेटिकासहितका चुनावी सामग्री पनि सबै जिल्ला सदरमुकाममा पुर्‍याइसकिएको छ,’ उनले भने, ‘१८ हजार ४ सय ३८ मतदान केन्द्रमा प्रयोग गरिने ६८ प्रकारका सामग्री र फोटोसहितको मतदाता परिचयपत्र जिल्ला सदरमुकामबाट १० हजार १३ मतदानस्थलमा पुर्‍याउने काम सुरु भइसकेको छ ।’
निर्वाचन अधिकृतको कार्यालयदेखि मतदानस्थलसम्म संवेदनशील सामग्री पुर्‍याउने काम सुरक्षित र व्यवस्थित बनाउन केन्द्रबाटै निरन्तर अनुगमन गर्न ‘इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम’समेत प्रयोगमा ल्याइएको उनले जानकारी दिए । ‘ट्रयाकिङ सिस्टम’ले सबै मतदान अधिकृत र संवदेनशील सामग्री बोकेका व्यक्तिको अवस्थाबारे निरन्तर जानकारी दिनेछ । उक्त प्रविधिले कतै अवरोध देखिए तत्कालै त्यसको कारण खोज्न र निदान गर्न
सहयोग पुर्‍याउँछ ।
कार्यक्षेत्रमा खटिएका १८ हजार ४ सय ३८ मतदान अधिकृतले मतदान केन्द्रको अवस्थाबारे विशेष कोडमार्फत पठाउने सूचना केन्द्रमा ‘डिकोडिङ’ हुने संयन्त्र जडान गरिएको उनले बताए । ‘मतदान केन्द्र तयार, मतदान प्रारम्भ, बाधा/व्यवधान, मध्याह्नसम्मको प्रगति विवरण, मतदान सम्पन्नदेखि मतगणना केन्द्रमा मतपेटिका आइसक्दासम्मका ‘इलेक्ट्रोनिक’ सन्देश एकै बटनबाट सम्प्रेषण हुने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘यो कार्य चुनावको निष्पक्षता र शुद्धताका लागि कोसेढुंगा सावित हुने अपेक्षा छ ।’
उनका अनुसार चुनाव व्यवस्थापनका लागि २ लाख १५ हजार तालिम प्राप्त कर्मचारी कार्यक्षेत्रमा खटिइसकेका छन् भने सुक्ष्म अनुगमनका लागि पर्याप्त जनशक्ति खटाउने तयारी भइरहेको छ । चुनाव सम्पन्न गरेलगत्तै सकेसम्म छिटो र व्यवस्थित रूपमा मतपरिणाम सार्वजनिक गर्न आयोगको विशेष तयारी छ । मतगणनाको अद्यावधिक विवरण रेडियो, टेलिभिजन र वेबसाइटमार्फत प्रत्यक्ष प्रसारण गर्ने, प्रत्येक क्षेत्रको मतगणनामा अग्रस्थानमा रहने तीन जना प्रतिस्पर्धीको फोटोसहितको विवरण डिस्प्ले गर्ने, चुनावी बुलेटिनमार्फत मतपरिणामसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्नेजस्ता कार्यको पनि आयोगले तयारी गरेको छ । चुनावमा प्रत्यक्षतर्फ १ सय २२ दलका ६ हजार १ सय २८ र समानुपातिकतर्फका ११ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् ।
आयोगले बुधबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ । कल सेन्टरको टोल फ्रि नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी सर्वसाधारणले सोझै चुनावसम्बन्धी सूचना प्राप्त गर्न सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया