पाचै विकास क्षेत्रमा सशस्त्रका एआइजी

apfकाठमाडौं, २८ कात्तिक । सशस्त्र प्रहरी बलले संविधानसभा चुनावको मिति नजिकिँदै जाँदा पाँचै विकास क्षेत्रमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)हरूलाई खटाएको छ ।

सशस्त्र प्रहरी स्रोतले दिएको जानकारीअनुसार चुनावी सुरक्षा र कार्यक्षेत्रमा फौजको अवस्थालाई ध्यान दिँदै पाँचै विकास क्षेत्रमा एआइजीहरू परिचालन गरिएको हो । सशस्त्र प्रहरीमा यसअघि विकास क्षेत्रको कमान्ड डिआइजीहरुले गर्दै आएका थिए । ४ मंसिरमा हुने चुनावको विरोधमा रहेको नेकपा–माओवादीका कार्यकर्ताले देशभर अवरोध पुर्‍याउन थालेपछि सशस्त्रले एआइजीलाई क्षेत्रमा पठाएको हो । सशस्त्रले कमान्डको अधिकार भने क्षेत्रका डिआइजीहरुलाई नै दिएको छ ।
सशस्त्रले एआइजीहरू दुर्जकुमार राईलाई पूर्वाञ्चल, सुशील श्रेष्ठलाई मध्यमाञ्चल, कृष्णकुमार तामाङलाई पश्चिमाञ्चल, ठाकुरमोहन श्रेष्ठलाई मध्यपश्चिमाञ्चल र जीवनकुमार थापालाई सुदुरपश्चिमाञ्चल क्षेत्रमा खटाएको छ । अर्का एआइजी ऋषवदेव भट्टराईलाई अपरेसन विभागमा यथावत राखिएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सिंहबहादुर श्रेष्ठले एआइजीहरूलाई चुनावअघिसम्मको लागि पाँचै विकास क्षेत्रमा खटाइएको जानकारी दिए । ‘चुनावी सुरक्षा र जटिलताबारे अध्ययन गर्न अस्थायी रूपमा क्षेत्रमा खटाइएको हो,’ प्रवक्ता श्रेष्ठले सौर्यसँग भने, ‘चुनावपछि उहाँहरू यथास्थानमा फर्कनुहुनेछ ।’
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले एआइजीहरुलाई २ मंसिरभित्र आआफ्नो क्षेत्रको सुरक्षा अवस्थाका साथै सुरक्षा निकायहरूबीचको समन्वयका साथै क्षेत्रमा फौज र सुरक्षा अवस्थावारे प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।
उनीहरूले सरकारको सुरक्षा योजनाअनुसार मुलुकका विभिन्न क्षेत्रमा खटेको फौजको अवस्था, चुनावी सुरक्षाका लागि पठाइएको स्रोतसाधनको अवस्थाका साथै स्रोतसाधन पुग नपुगबारे पनि महानिरीक्षक वन्तलाई प्रतिवेदन बुझाउनेछन् । उनीहरूलाई कार्यक्षेत्रमा फौजको अवस्थाका साथै सुरक्षा जटिलता भएका क्षेत्रमा अपनाउने सुरक्षा योजना पनि पेस गर्न निर्देशन दिइएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार सरकारको सुरक्षा योजनाअनुसार परिचालित फौजको अवस्था र चुनावी सुरक्षाका लागि पठाइएको साधनस्रोत ठाउँमा पुगे नपुगेकोबारे पनि एआइजीहरूले अध्ययन गरी मुख्यालयलाई सुझाव दिनेछन् । मुख्यालयले क्षेत्रमा पठाएपछि सबै एआइजीहरू बुधवार नै कार्यक्षेत्र पुगिसकेको सशस्त्रले जनाएको छ ।
एआइजी राईले सशस्त्र प्रहरी बलले यसअघि पनि प्रत्येक विकास क्षेत्रमा ३/३ महिनामा एआइजीलाई अनुगमनमा पठाउने गरेको उल्लेख गर्दै यो त्यसैको निरन्तरता भएको प्रतिक्रिया दिएका छन् । ‘एआईजी क्षेत्रमा जाने कुरा नयाँ होइन, यसअघि पनि जाने परम्परा थियो,’ एआइजी राईले भने, ‘हामी फौजको आन्तरीक अवस्था वुझ्न र कार्यक्षेत्रमा खटिएका जवान र फौजको मनोवलबारे जान्न क्षेत्रमा खटिएका हौ ।’
सशस्त्रको हाल सुदुरपश्चिममा डिआइजी दिवाकर केसी, मध्यमपश्चिममा डिआईजी प्रेम शाही, पश्चिमाञ्चलमा डिआईजी नारायणबावु थापा, मध्यक्षेत्रमा महाविर गुरुङ र पूर्वाञ्चलमा देवेन्द्र सुब्बाले कमान्ड गरिरहेका छन् ।
सशस्त्र प्रहरी मुख्यालयले सबै विकास क्षेत्रमा एसएसपी र एसपीको कमान्डमा अलग–अलग अनुगमन टोलीसमेत खटाएको छ । अनुगमन टोलीहरुले फौज कार्यक्षेत्रमा खटिएको/नखटिएको अवस्था बुझ्नुका साथै सरकारले उपलव्ध गराएको स्रोत साधन किने/नकिनेकोबारे पनि अध्ययन गरेर मुख्यालयलाई प्रतिवेदन बुझाउने मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया