निर्वाचन पर्यवेक्षक सक्रिय

काठमाडौं, २८ कात्तिक । संविधानसभा निर्वाचनको मिति एक हप्ता मात्र बाकी रहादा चुनावीसभा, प्रचार र घरदैलोका कार्यक्रम मात्र तीव्र भएका छैनन्, स्वदेशी विदेशी संस्थाका चुनावी पर्यवेक्षकको गतिविधि पनि थप सक्रिय हुन थालेको छ ।

निर्वाचन कार्यक्रमको पर्यवेक्षण गर्न स्वदेशी एवम् विदेशी पर्यवेक्षकको स्थानीयस्तरमा गतिविधि बाक्लिन थालेको हो । सोही क्रममा आगामी मङ्सिर ४ को निर्वाचन पर्यवेक्षण गर्न युरोपेली सङ्घका २६ सदस्य राष्ट्रसहित स्विट्जरल्यान्ड र नर्वेबाट समेत सहभागी ४० अल्पकालीन पर्यवेक्षक बुधवार राजधानीबाट देशभरि परिचालन भएका छन् । निर्वाचन पर्यवेक्षणमा मुख्य टोलीसहित निर्वाचन पर्यवेक्षण अभियानमा सङ्घका ८३ जना सहभागी छन् ।
अभियानले गर्ने पर्यवेक्षणमा कानुनी आधार तथा यसको कार्यान्वयन, निर्वाचनका प्रशासनिक काम, चुनावी अभियानका गतिविधि, राज्य संयन्त्र र नागरिक समाजको भूमिका, मिडिया आचार, मतदान, मतगणना एवम् तालिकीकरण र निर्वाचन समयको परिवेश छन् । निर्वाचनको दिन भने सङ्घका सदस्य राष्ट्र र स्विट्जरल्यान्डको राजदूतावासका स्थानीय रूपबाट भर्ना गरिएका २० जनाले पनि यही समूहमा रहेर अल्पकालीन पर्यवेक्षण गर्नेछन् । सङ्घ अन्र्तगत १०० बढी चुनावी पर्यवेक्षणमा सहभागी हुने बताइएको छ ।
निर्वाचनको दिन भने युरोपेली संसद्को एउटा प्रतिनिधिमण्डल पनि पर्यवेक्षणमा सहभागी हुनेछ । संविधानसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न तीन अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन आयोगबाट अनुमति लिएका छन् जसमा सङ्घका १००, कार्टर सेन्टरका ८५ र एसियन नेटवर्क फर फ्रि इलेक्सन (एन्फ्रेल)का ५४ अन्तर्राष्ट्रिय पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्नेछन् ।

प्रतिक्रिया