डोल्पा : जिल्लाका विभिन्न क्षेत्रमा पाइने जडीबुटीलाई जिल्लामै प्रशोधन गर्ने उद्देश्यले दश वर्षअघि त्रिपुराकोटमा स्थापना गरिएको त्रिपुरा सुन्दरी जडीबुटी प्रशोधन केन्द्र यतिखेर मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।
जिल्लामा पाइने भुल्ते सोत्तर र बोझोलगायतका जडीबुटी जिल्लामै प्रशोधन गरी यातायातको अभावमा जिल्लाबाट बाहिर निकासी गर्दा डोल्पालीले झेल्नु पर्ने झनझटबाट छुटकरा दिलाउने उद्देश्यले बिएसपी न्यू एराको झन्डै १० लाखको लागतमा यो उद्योगको स्थापना गरिएको थियो ।
स्थानीयस्तरबाट प्रशोधन केन्द्र संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै जानुका साथै उद्योगमा जडान गरिएका महत्वपूर्ण मेसिन खिया लागि बिग्रने अवस्थामा पुगेको छ । भवन भत्केर भग्नावशेषमा परिणत हुन थालेको छ । स्थापनाको समयमा प्रत्येक वर्ष झन्डै ३० लिटर भुल्ते र सोत्तरको तेल प्रशोधन गर्दै आएकोमा वार्षिक १० लाख बराबरको आम्दानी गरिंदै आएको थियो ।
सडक यातायातले नछोएको डोल्पामा यहाँ पाइने विभिन्न जडीबुटीको बाहिर निकासीमा अनेक किसिमका झन्झट झेल्दै आएकोमा उद्योग स्थापना पछि भने जिल्लामै सङ्कलित जडीबुटीबाट राम्रो मूल्य पाउँदै आउनुका साथै बाहिर निकासी गर्नुपर्ने झन्झटबाट छुटकरा पाएकोमा प्रशोधन केन्द्र बन्द पछि डोल्पाली जडीबुटी व्यापारीले सास्ती खेप्दै आएका छन् ।
जिल्ला वन कार्यालयमा जडीबुटीको विकासका लागि विभिन्न शीर्षकमा बर्सेनि लाखौाको बजेट आउने गरे पनि संरक्षणतर्फ ध्यान जान सकेको छैन । उद्योग सञ्चालक समितिको लापरबाही र स्थानीयको सहयोग अभावमा उद्योगको दुर्गति भएको उद्योग संरक्षणको कार्यालय सहयोगीको रुपमा रहेका हरिप्रसाद हमालले बताए । (सौस)
प्रतिक्रिया