ताप्लेजुङबाट परिचयपत्र वितरण

काठमाडौं, २७ कात्तिक । निर्वाचन आयोगले मंगलबार फोटोसहितको रंगीन मतदाता परिचयपत्र वितरण गर्न थालेको छ ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार आयोजित कार्यक्रमबाट परिचयपत्र वितरण गरेका हुन् । आयोगका अनुसार उक्त कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको उपस्थिति थियो ।
मतदाता परिचयपत्र वितरण व्यवस्थापनसम्बन्धी मापदण्ड तथा मार्गदर्शन ०७० अनुरूप मतदानअघि नै परिचयपत्र वितरण सुरु गरिएको आयोगले जनाएको छ । २ मंसिरसम्म नगरपालिका र गाविसका वडा कार्यालयमार्फत मतदाता परिचयपत्र वितरण गरिने भएको छ । सम्बन्धित मतदाता आफैँ उपस्थित हुन नसकेको अवस्थामा परिवारको सदस्य वा उनीसँग सम्बन्ध स्थापित हुने प्रमाण हेरी परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।
‘परिचयपत्र वितरण स्थलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिको सहमति/रोहवरमा पनि परिचयपत्र वितरण गर्ने व्यवस्था गरिएको छ,’ प्रवक्ता राईले भने, ‘यसपटकको संविधानसभा सदस्य चुनावमा १ करोड २१ लाख ४७ हजार ८६५ मतदाता छन् ।’ तीमध्ये पुरुष ५९ लाख ८० हजार ८ सय ८१ (४९.०२ प्रतिशत), महिला ६१ लाख ६६ हजार ८२९ (५०.७७ प्रतिशत) र तेस्रोलिंगी १ सय ५५ रहेको आयोगले जनाएको छ ।
आयोगले समानुपातिक प्रणालीको बन्दसूचीमा रहेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का कामेश्वरप्रसाद साह, कांग्रेसका सूर्यदेव दास उराव र एमालेका सागरदेवी चौधरीको योग्यताका विषयमा उजुरी परेपछि आजसम्ममा आफ्नो भनाइ पेस गर्न समय दिएको छ । उम्मेदवार साह सडक विभागमा इन्जिनियर पदमा कार्यरत रहेकोमा राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको, उराव भगवानराम प्रावि मधुवन ४ सुनसरीमा शिक्षक पदमा कार्यरत रहेकोमा राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको तथा चौधरी सरस्वती बाल विकास केन्द्रमा कार्यरत रही सरकारी सुविधा लिइरहेको भनी उजुरी परेपछि आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया