एकदिने आमहड्तालको प्रभाव मुलुक भरि

Banda Aamhadtal Ncp-maobadiकाठमाडौं, २५ कात्तिक । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको एकदिने आमहड्तालका कारण राजधानी लगायत मुलुक भरिको जनजीवन प्रभावित भएको छ ।

आमहड्ताल सफल बनाउन नेकपा–माओवादी र मोर्चा सम्बद्ध दलका कार्यकर्ताले आज (सोमबार) बिहानैदेखि मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । सानो समूहमा सडकमा आएका मोर्चाका कार्यकर्ताले सवारी साधनमा आक्रमण गर्नुका साथै सडक, बजार, पसल, उद्योग, कलकारखानामा अबरोध पुर्‍याएका हुन् ।

अबरोध गर्न सडकमा आएका नेकपा–माओवादीका कार्यकर्ता र मोर्चाका समर्थकलाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ । नेकपा–माओवादीले शान्तिपूर्ण आमहड्तालका क्रममा सुरक्षाकर्मीले आफ्ना तीन दर्जन बढी कार्यकर्ता पक्राउ गरेको आरोप लगाएको छ ।

उता, सरकारले आमहड्ताल निष्क्रिय बनाउन सडकमा सुरक्षाकर्मी उल्लेख्य रुपमा उतारेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेका छन् । सडक, बजारहरुमा सुरक्षा निकायको बाक्लो उपस्थिती छ भने गस्ती पनि उल्लेख्य रहेको प्रहरीले जनाएको छ ।

राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरमा सवारी साधन फाटफुट चलेको महानगरीय प्रहरी रामशाह पथले जनाएको छ । सवारी साधनमा भौतिक आक्रमण हुने डरले यातायातका साधन चल्न नसकेको स्वयं सुरक्षाकर्मीको भनाई छ ।

सवारी साधनमा तोडफोड/आगजनी/बम विष्फोट

नेकपा–माओवादी र ३३ दलीय मोर्चाका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन् । राजधानीका साथै मुलुकका विभिन्न जिल्लामा बम विष्फोट हुनुका साथै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

कोटेश्वरमा नागरिक दैनिकको बा ४ च ४८७२ नम्बरको गाडी तोडफोड भएको छ । सुविधानगर तीनकुनेमा पार्किङ गरिएको बा ६ च ५५११ र बा ३ च ७८२२ सवारी साधनमा पनि तोडफोड भएका छन् ।

वत्तीपुतलीस्थित एमाओवादीको नौं नम्बर वडा कार्यालयमा आगजनी गरिएको छ । तीनकुनेमा कांग्रेस सम्पर्क कार्यालयमा तोडफोड भएको महानरीय प्रहरीले जनाएको छ । आमहड्ताल समर्थकले भक्तपुरमा शान्ति मन्त्रालयको जीपमा पनि आगजानी गरेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल विद्युत प्राधिकरण अगाडि राखिएको बम सेनाले निष्क्रिय बनाएको छ । बुद्धनगर, गोंगबु, धापासी, डिल्लीबजार, कमलपोखरी, महाराजगंजलगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएका छन् ।

उता, काभ्रेमा पनि शंकास्पद बस्तु फेला परेका छन् । पाँच स्थानमा फेला परेका शंकास्पद बस्तु सुरक्षाकर्मीले निष्क्रिय बनाएको छ ।

यता, चितवनमा समेत विभिन्न ठाउँमा बम विष्फोट भएका छन् । भण्डारा र रत्ननगरमा केही व्यक्तिले विष्फोट गराएर भागेको प्रहरीले जनाएको छ ।

त्यसै गरी धनकुटामा एमाओवादीको निर्माणाधिन पार्टी कार्यालयमा सुतली बम बिस्फोट भएको छ । वम विष्फोट भए पनि भवनमा कुनै क्षति पुगेको छैन् । वम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि, सुरक्षा स्रोतले वम विष्फोट र शंकास्पद वस्तु राख्ने कार्य नेकपा–माओवादी र ३३ दलीय मोर्चाले गरेको दाबी गरेको छ । तस्विर साभार फेसबुकबाट

प्रतिक्रिया