काठमाडौं, २४ कात्तिक । एमालेले निर्वाचन प्रसार प्रसारका क्रममा मुलुकका विभिन्न स्थानमा आफ्ना कार्यकर्ता र कार्यक्रममा आक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रदीप नेपालले आज (आइतबार) विज्ञप्ति जारी गरेर संविधानसभा निर्वाचनका क्रममा भएका हिंसात्मक घटनाको बिरोध गरेका हुन् । उनले शनिबार ताप्लेजुङमा भएको बम विष्फोटमा कांग्रेसको संलग्नता रहेको भन्दै कारबाहीको माग गरेका छन् ।
‘देशका विभिन्न भागमा भएका हिंसात्मक घटना, यसक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिएको आपत्तिजनक मन्तव्य तथा अदृष्य शैलीमा भएका कतिपय प्रचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनमा देशभर एमालेका पक्षमा आएको अभूतपूर्व जनलहरका कारण एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अताल्लिएको नेता नेपालले आरोप लगाए ।
ताप्लेजुङको खोक्लिङमा शनिबारको जनसभामा ग्रिनेट प्रहारको भ्रत्सर्ना गर्दै एमालेले शान्तिपूर्ण जनसभामा भएको आक्रमणलाई आतंकाकारी एवं निकृष्ट अमानवीय आक्रमणको संज्ञा दिएको छ ।
एमालेले ताप्लेजुङको बम आक्रमणमा कांग्रेसका कार्यकर्ताको समेत संलग्नता रहेको आरोप लगाएको छ । उसले इलाम, ताप्लेजुङ्ग, सिन्धुपाल्चोक, काठमाडौंलगायतका जिल्लामा आफ्ना कार्यकर्ता माथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गरेको छ ।
त्यसै गरी, एमालेले नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहड्ताल र नेपाल बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । उसले निर्वाचन भाड्ने र मुलुकमा राजनीतिक संकट निम्त्याउने अभिप्रायसहितका कार्यक्रम अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छ ।
निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता विपरित हालै व्यक्त गरिएका धारणाप्रति पनि एमालेले गंभीर ध्यानाकर्षण भएको जनाएको छ । उसले सवारी साधन प्रयोगको प्रावधान विपरित पूर्व पश्चिम राजमार्गमा अवरोध पुग्ने गरी सवारी साधनहरुको लर्काे लगाएर एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका क्रियाकलापप्रति आपत्ति जनाएको छ ।
प्रतिक्रिया