प्रचण्ड चरम व्यक्तिवादी छन्

mani-thapa२०१८ सालमा प्यूठानमा जन्मेका मणि थापा संगीतकार, गायक त हुँदै हुन्, ले लामो समयसम्म माओवादीको नेतृत्व तहमा बसेर काम गरी केही वर्षअघि छुट्टिएका नेता पनि हुन् । पार्टीभित्रको आन्तरिक कलह नेतृत्वमा देखिएको विचलनको कारण पार्टीमा बिमति जनाउँदै आएका हुन् उनी । पार्टी काममा रहँदा धेरै नेताको कमी–कमजोरी नजिकबाट हेरे । आफैलाई पार्टीको सबै थोक ठान्ने र पारिवरको घेरामा बस्ने माओवादी अध्यक्ष प्रचण्डको शैलीलाई त थापा सामन्तवादी प्रवृत्ति ठान्छन् । पार्टी बिचारबाट बिचलन भयो भन्दै ०६२ सालमा माओवादीबाट अलग भएका उनी हाल क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव भएका छन् । माओवादीमा रहँदा उनले देखेको र बुझेको प्रचण्डको स्वभाव सन्दर्भमा सौर्यसँग भएको उनको कुराकानी ।
प्रचण्डसँग मेरो पहिलो भेट ०४४ सालमा नेपालगञ्जमा भएको हो । त्यो समयदेखि २०६२ सम्म एउटै पार्टीमा रहेको कारण म उनीसँगै भएँ । त्यतिबेला पार्टीको चौथो महाधिवेशन फुट्ने क्रममा थियो त्यसमा निर्मल लामा र मोहनविक्रम सिंहको बीचमा करिब–करिब फुट भइसकेको थियो । प्रचण्ड मोहनविक्रमतिर थिए । पहिलो पटक उहाँलाई देख्दा युवा थिएँ । उहाँ राम्रो नेता हुन सक्ने, राम्रो तर्क गर्न सक्ने, युवाहरुलाई आफ्नो तार्किक मोहमा चाँडै प्रभाव पार्न सक्ने व्यक्तिको रुपमा लिएको थिएँ । त्यतिबेला मैले उहाँको लवाई खुवाईदेखि लिएर सबै सरल देखेको थिएँ ।
पहिलो भेटमै उनी र मैले प्रशिक्षण दिने एउटै कार्यक्रम पर्‍यो । उनी पार्टीको प्रतिनिधिको रुपमा गएका रहेछन्, म विद्यार्थी प्रतिनिधिको रुपमा गएको थिएँ । उनी आइसकेपछि मैले धैरै बोल्ने कुरै भएन, उनैले कुरा राखे । उनको प्रस्तुति हेर्दा मैले धैरै सम्भावना भएको नेताको रुपमा पाएँ । म प्रभावित पनि भएँ, मलाई उनीमाथि विश्वास भयो, मलाई मात्र होईन धैरै पछिसम्म हामी सबैलाई उनीमाथि विश्वास थियो ।
नेतामा कलाकारिता, संवेग, आवेग, भावुकता हुनुपर्छ भन्ने मान्यता मेरो पनि हो । तर प्रचण्डलाई मैले पछिल्लो पटक बुझ्दा उनी परिस्थितिलाई हेरेर यस्ता आवेगहरुलाई प्रस्तुत गर्छन् । उनका जे जति भावुकताका चर्चा बाहिर चलेका छन् ति प्रोक्सी हुन्, वास्तविक होइनन् भन्ने निष्र्कमा म पुगेँ । यो मेरो अहिलेको निस्कर्ष होइन ।
हामी मोटो मशाल, एकता केन्द्र हुँदै आउँदा मैले उनमा कलाकारिताको अंश धैरै देखेँ । सायद, उनमा रहेको क्षमता नेपालका कमै नेताहरुमा छ । त्यो क्षमता सकारात्मक भएको भए देश र जनताको लागि धैरै राम्रो हुने थियो । तर, त्यो उनको करिअर बनाउने, आफूलाई सत्ता र पार्टीभित्र पावरफुल बनाउन बाहेक अरु कुरामा प्रयोग भएन । मलाई त प्रचण्डले आफ्नो क्षमताको दुरुपयोग गरेजस्तो लाग्छ ।
प्रचण्डको जीवनशैली पहिले सरल नै हो । मोहन वैद्यले नेतृत्व गरेको मोटो मशालमा प्रचण्ड तीन–चार तह तलको नेता थिए, उनीे युवा संगठनको अध्यक्षको जिम्मेवारीमा थिए । एक पटक कीर्तिपुरको पाँगामा युवा संगठनको प्रशिक्षण थियो । प्रचण्ड त्यस कार्यक्रममा अध्यक्षको हैसियतले आउँदा फाटेको पाइन्ट लगाएर आएका थिए ।
चवालिस पैतालिस सालतिर जब उनी मोटो मशालको महामन्त्री भए त्यतिबेला भने मैले प्रचण्डलाई टिपटप देखेँ । उनमा धैरै परिवर्तन आएको थियो । पार्टीको बैठक बिहानै छ भने पनि उनी टिपटप भएर आउँथे । उनका कपडा दिनदिनै फेरिएका हुन्थे । नेतृत्वमा गइसकेपछि सरल प्रचण्डलाई फेसनेबल प्रचण्ड, अरुभन्दा पृथक् देखिन खोज्ने, आफूलाई ‘सो’ गर्न खोज्ने प्रचण्ड देखेँ मैले । त्यति बेला जे–जे उपलब्ध हुन्थ्यो उनी ‘मेकअप’ गरिहाल्थे । अरु नेताहरु भने सामान्य रुपमा देखिन्थे । पारिवारिक जीवनमा त्यतिबेलाको आर्थिक अवस्थालाई हेर्ने हो भने पार्टीका धैरै नेताहरुको पारिवारिक आर्थिक जीवन प्रचण्डकोभन्दा माथि थियो । सत्ता र शक्ति प्राप्तिसँगै उनमा परिवर्तन देखियो । त्यतिबेला हामी युवा, विद्यार्थीले कुरो उठाएको पनि हो । उनको लवाई र प्रस्तुित अनि तिखा आँखा । उनी कसलाई केन्द्रित गरेर हेर्दैछन्, सब हामीलाई थाहा थियो । खाने, बस्ने, उठ्ने कुरामा उनी ‘एक्स्ट्रा’ थिए, अरुभन्दा आफूलाई भिन्न देखाउन खोज्थे ।
हामी टिप्पणी मात्र गथ्र्यौंं आलोचना गर्ने अवस्था थिएन । मोटो मशाल पार्टी पनि सानो थियो । ०४८ मा जब मोटो मशाल एकता केन्द्र बन्यो, निर्मल लामा, बाबुराम भट्टराई, सर्वहारा श्रमिक संगठनलगायत मिलेर त्यो एकता केन्द्रको पनि उनी महासचिव भए । उनको चर्चा अहिले जति नभए पनि उति बेला पनि हुन्थ्यो ।
पछिल्लो चरणमा प्रचण्ड भारतमा बस्थे । उनी बस्ने हेडक्वाटरमा सहजै जाने अवस्था थिएन । तर, भारतमा नेताहरु जसरी बस्ने प्रक्रिया थियो त्यो सुविधा सम्पन्न नै थियो । त्यसलाई सुरक्षाको विषय पनि मानिन्थ्यो ।
अहिले प्रचण्डको परिवारमा देखिएको विचलन भनेको राजनीतिक विचलनको परिणाम हो । जब मान्छेमा विचारमा बिचलन आउँछ, त्यसपछि उसको संस्कृतिमा बिचलन आउँछ, अनि पारिवारिक जीवनमा बिचलन आउँछ र पूरै समाजलाई हेर्ने दृष्टिकोणमा समेत विचलन आउँछ । जव प्रचण्डले माक्र्सवाद, लेनिनवाद र जनयुद्धको विचार छोडे र साम्राज्यवादको नजिक भए, त्यसपछि यस्तो देखिन थाल्यो । उनी सत्ता र शक्तिको लागि जोसँग पनि नजिक हुन सक्ने, जोसँग पनि सम्झौता गर्न तयार भएको सम्झौतावादी चरित्रमा फेरिए । कसैको सांस्कृतिक विघटन पार्टीबाट सुरु हुन्छ, कसैको परिवारबाट । प्रचण्डको जीवनमा त्यो परिवारबाट सुरु भएको छ । उनले ठूलो संगठन पनि चलाए, ठूलो पार्टीको नेता पनि भए तर उनले आफ्नो साख बचाउन सकेनन् ।
प्रचण्डले सरकार सञ्चालन गर्ने अवस्थासम्म आउँदा देखिएको रवाफ र परिवारमा देखिएको बिलासिताले नै छोरा प्रकाशमा सांस्कृतिक बिचलन ल्याएको हो । यो प्रचण्डको नियन्त्रणभन्दा बाहिर छ । उनले जनयुद्धको परिवेशबाट हटेर आफ्ना परिवारलाई सुबिधासम्पन्न ढंगले सँगै राख्ने काम गरे । अरुको परिवार मर्न मार्नको लागि तयार बनाउने, आफ्ना परिवार भने सुरक्षित रुपमा बस्न पाउने संस्कार बसालियो । समग्र पार्टीलाई व्यक्तिप्रति अझ आफूप्रति केन्द्रित गर्ने, पार्टीको सबै सम्पत्तिलाई आफ्नो सम्पति बनाउन खोज्ने प्रवृत्ति छ, उनमा । यो वैचारिक बिचलन हो । प्रकाशले अहिले जे गरेको छ, त्यसमा म उसको दोष देख्दिनँ । पहिले उ सोझो र ईमान्दर थियो । पछिल्लो चरणमा प्रचण्डले नजिकको मान्छे आफ्नो स्टाफ बनाए । त्यो माक्र्सवादी होइन, सामन्तवादी संस्कृति हो ।
माओवादी आन्दोलनमा प्रचण्ड पत्नी सीताको प्रचण्डको श्रीमती हुनु बाहेक कुनै भूमिका छैन तर पनि पार्टीको सबै निर्णय उनलाई थाहा हुन्थ्यो । बाबुरामले नै पार्टीको हरेक निर्णय सीतालाई थाहा हुन्छ नै भने बैठकमै आउने बनाइदिउँ न त भनेर प्रस्ताव गरे । अनि उनलाई सल्लाहकार बनाइयो । प्रकाशलाई पनि सबै थाहा हुन्छ किन बाहिर राख्ने भनेर जिम्मेवारी दिने काम गरियो । यो मान्छेको जीवनलाई उसको रुचिमा भन्दा पनि परिवारको बिचारमा चल्नुपर्ने भयो । प्रकाश प्रचण्डको कारणले भिक्टिम बने । उसलाई स्वतन्त्र रुपमा काम गर्न दिइएन । प्रचण्डले पार्टीलाई दाहाल परिवारको हेडक्वाटर बनाइछाडे ।
प्रचण्ड आन्दोलनको उपलब्धी मेरो दिमागको उपज हो, यो सबै मैले गरेको हो भन्न थाले । व्यक्तिवादी महत्वाकांंक्षाले उनलाई प्रकाशको हालतसम्म पुर्‍यायो । माओवादीभित्र परिवारलाई राखेर हेडक्वार्टर बनाउने चलन थियो । आफ्ना श्रीमती र छोराछोरीलाई स्टाफ बनाउने । श्रीमान् पोलिटब्यूरोमा भए श्रीमतीलाई केन्द्रीय सदस्य बनाउनुपर्ने वा राज्य समितिको सदस्य बनाउनुपर्ने । गोपनीयताको नाममा वा कुनै बहानामा सुरक्षाको नाममा परिवारको मान्छे सँगै बस्नुपर्ने संस्कृति माओवादीमा विकसित भयो । नेताहरुले सँगै राखेको देखेपछि तलकाले पनि सिके । यसले परिवारमा कलह शुरु भयो ।
कुरा गर्थे, प्रचण्डका धैरै एण्टेनाहरु छन् । कोठामा बसेर कुरा गरे प्रचण्डकोमा पुग्छ भन्ने गरिन्थ्यो । जसरी राणा शासनमा शक्ति, सत्ता र उत्तराधिकारका लागि कोत पर्व, भण्डारखाल पर्व भएथे, त्यस्तै भयो माओवादी पार्टीमा पनि । प्रचण्डको कार्यशैली सधैभरि फुटाऊ र राज गर भन्ने रह्यो । उनको दाउपेच कोत पर्व र भण्डारखाल पर्व जन्माउने खालको थियो । आज पनि छँदैछ । नेतामा चलाखी हुनु राम्रो हो तर आफ्नालाई नै सिध्याइदिने खालको चलाखी भने हुनु हुँदैन । कसैले उनको कुटनीतिको बारेमा बोल्ने बित्तिकै त्यसलाई सखाप पारिन्थ्यो ।
प्रचण्डले सेक्टर काण्डपछि सिपी गजुरेलको जिम्मा यानप्रसादलाई दिए । सिपीको ठाउँ यानले लिनै सक्थेनन् । कहिले कसलाई नजिक ल्याउने, कहिले कसलाई लात हान्ने काम गर्थे उनी । एकता केन्द्रमा हुँदैमा निर्मल लामाहरुले भन्थे– यो ह्वाको खेल हो, न माओको नजिक हुने न देङतिर हुने । बीचमा बसेर रोल खेल्ने न भाले न पोथी भन्थे । राजनीति होइन जालझेल गर्ने जोकर जस्तो, यताको कुरा उता, उताको कुरा यता गर्ने चरित्र प्रचण्डमा छ ।
प्रचण्डले आफूलाई भावुक भन्छन् तर मैले उनलाई कहिल्यै त्यस्तो देखिनँ । दु:खद अवस्था देख्ने बित्तिकै रोई हाल्छन् भनिन्छ । उनमा संवेदनाको मूल फुटेको कहिल्यै अनुभव भएन । उनको विरुद्धमा कोही आयो भने उनी अत्यन्तै उत्तेजनामा आउँथे । यसलाई कसरी सिध्याउने भन्ने उनको दाउ हुन्थ्यो । शहिद परिवारको नाममा आउने उनको वक्तव्य सधै उत्तेजक हुन्छन्, भावुकता होइन बरु प्राविधिक शब्द मात्र हुन्छ । विस्फोटक शब्दहरु मात्र हुन्छन् त्यहाँ । उनी कहिले भावनामा बगे ? लेनिन, माओ, माक्र्स, होचिमिन्ह, पुष्पलाल, मदन भण्डारी, मोहनविक्रम आदिको जस्तो गरी कहाँ जनतालाई सम्झेर दुई शब्द लेखे ? उनी चतुर राजनीतिक खेलाडी मात्र हुन् । रेखा थापासँग नाचेको फोटो हेर्नुस् त, प्रचण्ड कत्ति उत्तेजित छन् ! म त प्रचण्डसँग पाँच–सात घण्टा बहस गर्न चाहन्छु ।
बादल उनको मिल्ने साथी, बादललाईसम्म पनि बाँकी राखेनन्, बाबुरामलाई समेत सखाप पर्ने प्रस्ताव आफ्नो गुटमा ल्याए । किरण नभएको भए प्रचण्ड हुन सक्थे तर बादल नभएको भए प्रचण्ड हुने थिएनन् । कसैलाई पनि उनी मानवीय संवेदना बाहिर गएर कार्यवाही गर्थे । आफ्ना बिरोधिलाई स्टालिनभन्दा पनि क्रुर शैलीमा सिध्याउने बाहेक अरुलाई प्रोत्साहन गर्ने काम गरेको मैले देखेको छैन । अब अहिले उनको नजिक पोष्टबहादुर छन् । उनले युद्धको अनुभूति प्रत्यक्ष रुपमा गर्नै पाएनन् ।
माओवादीभित्र आफूलाई धुरी बनाएर हेर्ने, सबै चीज आफूमा केन्द्रित गर्ने अपसंस्कृतिका निर्माता प्रचण्ड हुन् । हेर्दै जाउँm, त्यसको शिकार उनी स्वयं बन्नेछन् ।
पहिलो वार्ताकालमा रोल्पामा जनपरिषद र जनसेनाको पहिलो राष्ट्रिय भेला थियो । त्यस भेलामा दुई प्रकारका खाना बने । काठमाण्डौबाट गएका वुद्धिजीवीले माओवादीमा खाद्य संकृतिको विकास गर्न सकेको रहेनछ भनेर आलोचना गरेका थिए । त्यसपछि भान्सा एउटै भयो । त्यहाँ प्रचण्डको कुर्सि थियो, किरण र बाबुरामको कुर्सि सानो थियो । त्यो व्यवस्थापनलाई नेताहरुले स्वीकार गरे । भारतका माओवादीले भन्थे टीका–माला लगाउने काम त सामन्तवादी सोच हो । सामन्तवादको विरुद्धमा हतियार उठाउने आफू सामन्तवादबाट माथि उठ्न नसक्ने ।
एकपटक भारतबाट आएका जनयुद्धका, गुरिल्ला युद्धको बिषेशज्ञ थिए उनले आलोचना गरे हाम्रोमा त को ठूलो को सानो नेता भनेर चिनाइदैन उसको प्रस्तुती र भूमिकाले मात्र थाहा हुन्छ, यहाँ त के हो ठूलो नेताले धैरै माला लगाएको छ अग्लो कुर्सिमा बसेको छ । यो कस्तो कम्युनिष्ट पार्टी हो ? हाम्रो त दुईवटा पोशाक हुन्छ एउटा पार्टीले दिएको युनिफर्म जो पार्टीको काममा लगाइन्छ अर्को सामान्य अरु बेला लगाइन्छ । तपाईको त जहाँ गयो त्यहि दुई–दुईजोर ट्रयाक दिएको छ ।
व्यक्तिगत रुपमा मेरो उनीसँग घनिष्टता थिएन । प्रचण्ड नेता भएको र म त्यही पार्टीमा भएको कारणले नजिक हुनु स्वाभाविक हो । उनलाई रक्सी सधै चाहिन्छ । उनी आफै भन्थे– मलाई चाहिन्छ । उनी मात्र होइन प्राय सबै नेता रक्सी खान्थे ।
आवश्यकताको नाममा धैरैको सफाया भयो । त्यसको मुल्यांकन इतिहासले गर्ला दोषी हामी पनि हौँ, प्रचण्ड मात्र होइन । जति त्रास गराउन सकियो उति नै चाँडो नेतृत्वको विकास गर्न सकिन्छ भन्ने भ्रम थियो । सत्तामा छिटो पुग्ने मानसिकताले नेताहरुमा ध्वंंस पनि चाँडै गर्ने र निर्माण पनि चाँडै गर्ने धारणा थियो । माओले भनेको जस्तो छापामार शैली थिएन । माओले आफ्नो क्षति कम, दुश्मनको क्षति बढी गराउने भन्थे । यहाँ त के भनियो भने– सयजना मरेर आए पनि दशवटा बन्दुक ल्याउनुपर्छ, सयौंले बलिदान भएर भए पनि चौकि ध्वस्त हुनुपर्छ । ध्वंंसमा परिणाम हेर्ने प्रवृत्तिको विकास भयो । कसैले धैरै क्षति हुने काम नगरौँ भन्यो भने उ क्रान्तिविरोधि हुन्थ्यो ।
जनयुद्ध सुरु भर्खर भएको थियो हामी पूर्वाञ्चलमा थियौँ, त्यसको नेतृत्व सिपी गजुरेलले गर्थे । गाउँ भरी जासुस घुम्न थाले सुरक्षित हुन के गर्ने भन्ने कुरा भयो । जिल्लामा रहेका दुईचार जनालाई ठीक पार्ने कुरा भयो । काभ्रेमा जिल्ला कमिटीले दश जना मार्ने प्रस्ताव गर्‍यो । दश जना मार्नु हुन्न यसले जनतामा नराम्रो सन्शेस जान्छ भन्नेहरु डरुवा क्रान्तिकारी भए मार्नुपर्छ भन्नेहरु ठूला क्रान्तिकारी भए । मान्छे मार्ने निणर्य पास नभएपछि सिपीलाई हटाएर यानप्रसादलाई ईन्चार्ज बनाए प्रचण्डले । यानप्रसाद आएपछि भटाभट मान्छे मार्न सुरु भयो । पश्चिमको कमाण्डर बादल थिए प्रचण्डले बादल र यानलाई एउटै हैसियतको देख्न थाले । यानप्रसादलाई दिएको जिम्मेवारी र उनमा बढेको महत्वकांक्षाले उनी आफैभित्रबाट ‘भिक्टिम’ भए । मानवीय भावना नभएको कुनै नेता छ भने त्यो प्रचण्ड हो ।
धैरै मान्छे मार्ने, धैरै पैसा उठाउने, धैरै हतियार ल्याउनेलाई क्रान्तिकारी भनिदिनु पर्ने । जनताको पक्षमा बहस गर्नुपर्छ समस्यालाई राजनीतिक रुपमा हल गर्नुपर्छ भन्नेहरुलाई सुधारवादी संशोधनवादी भनियो । प्रचण्डसँग जो नजिक हुन्छ उसको समाप्ति नजिकै छ । उनीसँग अहिले जो व्यापारी घराना शक्ति केन्द्रहरु नजिक छन् दश वर्षपछि उनीहरु उनैबाट समाप्त हुनेवाला छन् ।

प्रतिक्रिया