विश्व सहरी योजना दिवस मनाइयो

काठमाडौ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रवीन्द्रकुमार शाक्यले सरकारबाट तयार पारिएको १३ औ योजनाको आधारपत्रमा सहरी क्षेत्रको विकासका लागि ठोस कार्ययोजना अगाडि सारिएको बताएका छन् । सहरी विकास मन्त्रालयद्वारा ‘विश्व सहरी दिवस २०७०’ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहर भनेको भौतिक संरचना र सुविधामात्रै नभई त्यस स्थानको संस्कृति, कला र सामाजिक धरातल पनि भएकाले त्यसको विकासमा ठोस कार्ययोजना अगाडि सारिएको बताए । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले राजनीतिक स्थिरता नभएसम्म कुनै पनि योजनाको व्यावहारिक कार्यान्वयन हुन नसक्ने भन्दै सर्वप्रथम राजनीतिक नेतृत्वले आफ्नो नीति तथा योजना नै प्रष्ट पार्नुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट सहरी योजना तयार पारेको भन्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका श्रद्धा तुल्सीवाल र सुरज श्रेष्ठका साथै ख्वप: कलेजका रामप्रसाद सुवाल र नेपालको सहरी विकासमा महत्वपूर्ण योगदान गरेकामा डा पदमबहादुर क्षेत्री र जर्मन नागरिक हार्स म्याथुलाई सम्मान गरियो ।
सरकारले पहिलो पटक सहरी विकास योजना र मापदण्डलाई आम नागरिकमा पुर्‍याउने उद्देश्यका साथ विश्व सहरी योजना दिवस मनाएको हो । नागरिकमा सहरी संस्कृति, सहर निर्माणको मापदण्ड, योजना र विकास रणनीतिको विषयमा जानकारी गराउने उद्देश्यले दिवस मनाइएको हो । विश्वभर सन् १९४९ देखि नै हरेक वर्ष नोभेम्बर ८ मा सहरी योजना दिवस मनाउन थालिएको हो । पहिलो पटक सरकारी तवरबाटै मनाउन लागिएको सो दिवसको मूल नारा ‘सहरी योजना र मापदण्ड व्यवस्थित सहरको मेरुदण्ड’ राखिएको छ ।

प्रतिक्रिया