काठमाडौं, २२ कात्तिक । एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा–माओवादीलाई देखाएर एमाओवादीले चुनाव भाँड्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
राजधानीमा आज (शुक्रबार) आयोजित कार्यक्रममा नेता नेपालले काठमाडौंकै क्षेत्रहरुमा एमाओवादीले वाइसीयएका क्याम्पलगाएर जनतालाई त्रसित बनाउने कार्य गरेको बताए । यस्ता कार्यले चुनावलाई सहयोग नमिल्ने उनको भनाई छ ।
‘एमाओवादी नेकपा–माओवादीलाई देखाएर निर्वाचन भाँड्ने षडयन्त्रमा लागेको छ,’ उनले भने, ‘काठमाडौंको वज्रयोगिनी, साँखुलगायतका स्थानमा वाइसीएलको क्याम्पै खडा गरेर ड्रेसमा मार्चपास गराएको छ ।’
एमाओवादी हार्ने देखेर बुथ लुट्न वा मतदातालाई आतंकित बनाएर जित्न चाहेको आफूले सूचना पाएको नेपालले बताए । ‘एमओवादी हार्ने निश्चित भए वाइसीएललाई प्रयोग गरेर निर्वाचन विथोल्ने छ,’ उनले भने ।
उनले चुनाव सम्पन्न भए पछि नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रियामा ल्याउने प्रतिबद्धता जनाए । उनले नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रिया भन्दा बाहिर राख्नै नहुने बताए । ‘संविधान लेखन प्रक्रियामा नेकपा–माओवादीलाई ल्याउनै पर्छ,’ उनले भने ।
उनले निर्वाचन पछि अर्को प्रक्रियामा नेकपा–माओवादीलाई ल्याउन आफूले भूमिका खेल्ने आश्वासन दिए । ‘मैले हिजो पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेकै हो,’ नेता नेपालले दाबी गर्दै भने, ‘अब पनि निर्वाचन पछि संविधान निर्माणको प्रक्रियामा ल्याउन भूमिका खेल्छु ।’
नेता नेपालले संविधान निर्माणका विवादित विषयमा सहमति नभए जनमत संग्रहको माध्यमबाट टुङग्याउने बताए । ‘जनमत संग्रहमा जनताको मतलाई माओवादीले पनि स्वीकार्नु पर्छ,’ उनले भने ।
नेता नेपालले विगतमा एमाओवादीले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन र संविधान लेख्ने कार्यमा अवरोध गरेर मुलुकलाई संकटमा पारेको स्मरण गरे । उनले भने, ‘यो निर्वाचनमा एमाओवादीलाई जनताले सजाय दिनै पर्छ ।’
प्रतिक्रिया