मंसिर ३ देखि २ दिन सीमा बन्द हुने

पर्सा, २२ कात्तिक । आसन्न संविधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल र भारतका सीमा क्षेत्रका अधिकारीको बैठक विहिवार बसेको छ ।

वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलमा सीमा समन्वय समिति बैठक भएको हो । संविधानसभा निर्वाचनभन्दा दुईदिन अगाडिदेखि सीमा बन्द गर्ने, निर्वाचन सफल बनाउन दुवै राष्ट्रका सुरक्षा अधिकारीबीच सूचना अदानप्रदान गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मङ्सिर ३ गते बिहान ५ बजेदेखि मङ्सिर ५ गते बेलुका ५ बजेसम्म यस क्षेत्रअन्तर्गतका सबै नाका बन्द हुने सहमति भएको छ । बैठकमा बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका उद्योगबाट निस्कने फोहोरका कारण सिर्सिया खोला प्रदूषित हुने गरेकाले छठ पर्वलाई मध्यनजर गर्दै पााच दिनसम्म उद्योग बन्द गर्न पनि अधिकारीहरुबीच सहमति भएको छ । त्यस्तै बैठकमा पर्साको पिडारीगुठी गाविसको ओरिया खोलामा बालुवा गिट्टीको अवैध निकासीलाई नियन्त्रण गर्न दुवै तर्फबाट साझा प्रयास गर्ने, सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई निस्तेज पार्न एकअर्कालाई सहयोग गर्नेलगायतको सहमति भएको छ ।
बैठकमा बारा, पर्सा, रौतहट, चितवन र नवलपरासीका सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारी, भारत बिहार पूर्वी चम्पारण र पश्चिमी चम्पारणका अधिकारी सहभागि थिए । नेपालका तर्फबाट पर्साका प्रजिअ कैलाशकुमार बजिमय, बाराका प्रजिअ दीनेश भट्टराई, नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया