चुनाव सार्ने दाउपेच कसैले नगरुन् : नेपाल

madhav nepal 1काठमाडौं, १७ कात्तिक । एमाले वरिष्ठ नेता तथा काठमाडौं–२ का उम्मेदवार माधवकुमार नेपालले पराजित हुने भएपछि एमाओवादी संविधानसभाको दोस्रो चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

नेता नेपालले शनिबार काठमाडौं–२ मा बसोबास गर्ने पत्रकारसँगको भेटमा घुमाउरो तरिकाले एमाओवादीमाथि यस्तो आरोप लगाएका हुन् । नेपालले दलको नाम किटानी नगरे पनि उनको भनाइ एमाओवादीप्रति लक्ष्यित थियो । ‘हार्छु भन्ठानेर कसैले पनि चुनाव सार्ने दाउपेच नगरुन्,’ उनले भने, ‘हालत खस्किन्छ कि भन्ठानेर कसैले चुनाव सार्ने बहानाबाजी गरे त्यसरी वाहनाबाजी गर्नेहरू नै जनताबाट बडारिन्छन् ।’ कुनै एक पार्टीको इच्छा पूरा गर्ने नाममा राष्ट्रियता नै जोखिममा पार्न नहुने उनको भनाइ थियो ।
उनले प्रमुख दलबीच ४ मंसिरमा चुनाव गरी एक वर्षभित्र संविधान जारी गरिसक्ने सहमति भएको खुलासा गर्दै उक्त प्रतिबद्धताबाट दायाँ–बायाँ गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे । ‘कुनै दल यसबाट पछि हट्न खोज्छन् भने जनताबीच नांगेझार हुन्छन्,’ उनले भने, ‘एक वर्षभित्र संविधान घोषणा हुन नसके जनमतसंग्रहबाट विवादित विषय टुंग्याएर भए पनि संविधान जारी गर्ने सहमति भइसकेकाले कोही पनि त्यसबाट दायाँ–बायाँ हुँदैन ।’
उनले चुनावको महाभियानमा सबै दल जुटिसकेको उल्लेख गर्दै कसैलाई पनि बाधा–अवरोध नगर्न आग्रह गरे । संविधान निर्माणमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको पनि उत्तिकै भूमिका आवश्यक रहेको भन्दै चुनावपछि कुनै उपाय खोजेर उक्त दललाई प्रक्रियामा सहभागी गराउन सकिने धारणा व्यक्त गरे । ‘निर्वाचन महाभियानमा बाधा–अवरोध खडा नगर्नुस्, संविधान निर्माण गर्न र मुलुकलाई अघि बढाउन तपाईंहरूको पनि उत्तिकै आवश्यकता छ,’ उनले माओवादीलाई आग्रह गर्दै भने, ‘बरु निर्वाचन सम्पन्न भइसकेपछि कुनै उपाय खोजेर भए पनि मिलेरै अघि बढौँला ।’
देशभर एमालेको पक्षमा जनलहर देखिएको दाबी गर्दै उनले आºनो पार्टीले बहुमत ल्याउने प्रवल सम्भावना रहेको ठोकुवा गरे । ‘एमालेले बहुमत ल्याउने देखेर निर्वाचन बिथोल्न अनेक षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘तर त्यो सम्भव छैन ।’ स्थानीय निकायमा जनप्रतिनिधि अभावका कारण विकास निर्माणको काम अघि बढ्न नसकेको उल्लेख गर्दैै उनले एमालेको बहुमत आए आगामी चैत मसान्तभित्र कुनै पनि हालतमा स्थानीय चुनाव गरिछाड्ने उद्घोषसमेत गरे ।
संविधानसभा विघटनको जिम्मेवार एमाओवादी नै भएको उनको आरोप थियो । ०६९ जेठ २ को सहमति तोडेर एमाओवादीले नै संविधान बन्न नदिएको उनले स्मरणसमेत गराएका थिए । पेप्सीकोलामा आयोजित भेलामा पनि उनले त्यही कुरा दोहोर्‍याएका थिए । मधेसी दलको बैसाखी टेकेर एमाओवादीले संविधानसभा विघटन गराएको उनको आरोप थियो । उनले उक्त कार्यक्रममा सहमति हुन नसकेका विषयमा छलफल गरी ६ महिनाभित्र संविधानका मस्यौदा तयार गर्ने र एक वर्षभित्रै संविधान जारी गरिने दोहोर्‍याएका थिए ।

 

प्रतिक्रिया