समाजको धेरै वर्ग र समुदायको प्रतिनिधित्व गरेकी छु

Shanta-Chaudhariअघिल्लो संविधानसभामा समानुपातिक तर्फबाट सभाषद बनेकी शान्ता चौधारी यो पटक प्रत्यक्षतर्फको निर्वाचन लड्दै छिन्, दाङ निर्वाचन क्षेत्र नं. २ बाट । स्कुल जाने, पढने र खेल्ने उमेर शान्ताको जमिन्दारको घरमा कमलरी बनेर बित्यो । मध्यपश्चिममा रहेको कमलरी प्रथाको तितो अनुभव भोगेकी एक कठोर पात्र हुन शान्ता । राजनीति बुझ्दै नबुझी संविधान बनाउने गौरवमय जिम्मेवारी उनले प्राप्त गरिन् । तर, अरू कसैकोभन्दा उनको भूमीका कम रहेन । नेपालको राजनीति सधै छलकपटले चल्छ । तर, उनीसँग त्यो कौशलता रहेन । गएको संविधानसभाले संमविधान बनाउने जिम्मेवारी पूरा गर्न नसेके पनि आफ्नो गाउँमा दर्जनौँ विकास निर्माणको काम शान्ताले गरिन् । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरूको सवारी साधन धमाधम जल्दै छन् । त्यो दु:खद अवस्था उनले पनि भोग्नु पर्‍यो । शुभचिन्तकको सहयोगले भाडामा लिएको गाडी समेत बाँकी रहेन । खाडी मुलुकमा पसिना बगाउने उनका शुभचिन्तकहरुले सहयोग गरेर भाडामा लिएको गाडी खरानी भएको दु:खद अनुभव शान्ताले सँगाल्नु पर्‍यो । निर्वाचनको सन्दर्भमा सौर्य दैनिकसँग उनी यसरी प्रस्तुत भइन् :
निर्वाचन आउन धेरै दिन छैन । म यति बेला जनताको बीचमा भोट माग्ने र उनीहरूका आकंक्षा सुन्नमा व्यस्त छु । दैनिक घरदैलो र कार्यकर्ता भेटघाटमा समय बितेको छ । घरदैलो कार्यक्रम तीब्र रूपमा अगाडि बडेको छ । यति बेला जनताको बीचमा जानै पर्छ, म त त्यही समुदायबाट आएकोले होला जनता मसँग ढुक्कले आफ्ना कुरा गर्छन् । क्षेत्रको सबै समुदायले मप्रति धेरै आसा गरेका छन् । अझ म जुन समुदायबाट यहाँसम्म आएँ, त्यो थारु समुदायले अझ बढी आसा गरेका छन् । मप्रतिको उनीहरूको आसा स्वाभाविकै लागेको छ । नेपाली उखान छ नि ‘सर्पको खुट्टा सर्पले देख्छ, गरीबको दु:ख गरीब्ले देख्छ’ भन्ने त्यसैले होला ।
अघिल्लो संविधानसभाको सदस्य भएको नाताले प्रमुख दायित्व संविधान बनाउनु थियो । धेरै कारणले त्यो जिम्मेवारी पूरा गर्न सकिएन । तर, मैले आफ्नो गाउँ, क्षेत्र र समुदायका लागि आफ्नो बर्कतले भ्याएसम्म काम गरेँ भन्ने लाग्छ । पार्टी सरकारमा भएको बेला होस् वा नभएका बेला मेरो चिन्ता आफ्नो क्षेत्र र समुदायप्रति हुने गथ्र्यो । आफूले जसरी जानेको थिएँ त्यसैगरी विकास निर्माणको माग गरेँ । मेरो काम र भूमिकाले कसैलाई दु:खी बनाउने काम गरिनँ । जनतालाई सन्तुष्ट हुने गरी काम गरेँ भन्ने लाग्छ । कतिलाई लागेको थियो होला– यो कमलरीले सभाषद भएर के गर्ली ? भन्ने । मैले धेरै पटक त्यस्ता अभिव्यक्ति नसुनेको पनि हैन । तर, मैले चार वर्षको अवधिमा कसैलेभन्दा कम गरिनँ बरु बढी नै गरे हुँला भन्ने लाग्छ ।
जति बेला एमाले भएँ अरु केहि देखेर भएकी थिइनँ । यो पार्टीले गाउँको विकास गर्छ, गरीबको पार्टी हो र यो जनताको बीचमा लोकप्रिय पार्टी हो भन्ने विश्वासले भएकी थिएँ । उतिबेला जे बुझेर एमाले भएकी थिएँ त्यो बुझई अहिले पनि उत्तिकै अटल छ । लोकप्रिय पार्टीको कार्यकर्ताको हैसियतले जनताका बीचमा काम पनि लोक प्रिय गर्नुपर्छ भन्ने । मलाई नसकिने र नगर्ने कामको आश्वासन दिनु छैन । जतिबेला गाउँमा साधारण नागरिकको हैसीयतमा थिएँ र सभाषद् भएँ दुबै अवधिमा मलाई चिन्ने जान्ने मान्छे मेरा शुभचिन्तक र मतदाता हुन् । त्यसैले यो क्षेत्रबाट निर्वाचन जित्नेमा मैले मात्र हैन मेरा बारेमा कसैले शंका गर्नुपर्दैन ।
राजनीतिमा ठूलो दर्शन बुझेर लागेको हैन । तर, राजनीति भनेको देश र जनताको सेवा गर्नु हो भन्नेसम्म बुझेकी थिएँ । म श्रमजीवी पार्टीको कार्यकर्ता र मेरो भोटर शुभचिन्तक पनि त्यहि धरातलका छन् । दुई छाक पेटभरी खान नपाउनेहरूको दु:ख र पीडा राम्रोसँग भोगेकी छु । त्यसैले जहिलेसम्म राजनीति गर्छु इमान्दारितापूर्वक नै गर्ने छु । मलाई राजनीतिका नाममा कुनै तिकडम गर्नु छैन । आफ्नो क्षेत्रको विकास, आफ्नो वर्ग समुदायको उत्थान र संविधान बनाउने गरिमामय जिम्मेवारी पूरा गर्न पाए हुन्छ ।
कमलरी हुदाँ को समय जस–जसको घरमा भाडा माझेँ, जस–जसको सेवा गरेँ उनीहरू र मजस्तै कमलरी, जनजाति श्रमजीवी, सर्वहारा इमान्दार जनता सबै मेरा समर्थक हुन् । जनताको काम गर्न विश्वविद्यालयको सर्टिपिकेट लिनुपर्दैन । आराम र सुख शैलमा हुर्केर दर्शनको ठेली पढनु पर्दैन । जनताको बीचमा भोगेको भोगाई र दु:खलाई नजिकबाट अनुभूती गरे धेरै काम गर्न सकिन्छ भनेर देखाउन चाहन्छु । जनताको मप्रतिको आसा विश्वास र समर्थन हेर्दा चुनाव जित्नेमा पूरा विश्वास छ । जनता जनताकै बीचबाट आएको इमान्दार प्रतिनिधिको प्रतिक्षामा छन् । म उनीहरूको त्यो आसा विश्वासमा धमीरा लाग्न दिने छैन । दाङको २ नम्बर क्षेत्रमा मैले भोगेको पीडा र दु:ख जनताको सेवा र गाउँको विकास गरेर बिर्सन चाहन्छु । समाजलाई देखाउन चाहन्छु । सामान्य एउटा कमलरीले अवसर पाएमा जनताको हितमा कति काम गर्न सक्छ भनेर ।
खुल्ला निर्वाचनमा प्रतिस्पर्दा सहज रहेन छ । को कुन वर्गबाट आएको हो भनेर मूल्यांकन नहुँदा दु:ख लाग्छ । पहिलो संविधानसभामा आउँदा ‘भाडा माझ्दा माझ्दै सभाषद’ बनियो म कुनै हुने खाने वा सम्भ्रान्त वर्गबाट आएको मान्छे हैन । सबैलाई थाहा छ जमिन्दारको घरमा लामो समय कमलरी भएर आएकीे हुँ । मेरो परिचय कसैकोसामु लुकाउनु पर्ने वा लुकेको छैन । तर, यति बेला त्यही कमलरी शान्ता आफ्नो फरक पहिचान बनाउन खोज्दै छु । दाङका बुद्धिजिवी, शिक्षक, किशान सबै बर्गका व्यक्तित्व र यहाँका मान्छे चौधरीका छोरीचेलीलाई कमलरी मात्र हैन राष्ट्रको गौरवशाली जीम्मेवारी दिएर कमलरी प्रथाको कलंक मेटाउन चाहन्छन् ।
म सामान्य व्यक्ति खुल्ला राजनीतिमा आएकी छु । नेपालमा हुने निर्वाचनको भोगाई सबैलाइ थाहा छ । लार्खौँ खर्चेर चुनाव लड्न सक्दिनँ, जनताको बीचमा जाने र आफ्ना कुरा राख्ने हो । मैले चार वर्षको बीचमा र यति बेला बुझे मलाई चिन्ने र माया गर्ने देशभित्र मात्र हैन देश बाहिर पनि रहेछन् भनेर । निर्वाचनमा जाने भएपछि सहयोगको लागि सार्वजनिक रूपमा आह्वान गरेँ । सायद त्यसरी कसैले गरेनन् होला । अरबका विभिन्न ठाउँमा गएर रगत पसिना बगाउने नेपाली दाजुभाइ दिदीबहिनीहरूले मलाई सहयोग गरे । उनीरुको त्यही सहयोगले प्रचारको लागि गाडी भाडामा लिएँ । त्यो गाडी खरानी भयो । मलाई माया गरेर सन्तानको छाक काटेर पठाएको पैसाले लिएको गाडी जल्दा मेरो मनभन्दा बढी उनीहरूको मन रोयो होला । गाडी जलाउनेहरूलाई पनि थाहा हुनुपर्ने हो मेरो अवस्था । म कुन वर्गबाट आएकी हुँ र मेरो निर्वाचन खर्च कसरी जुटेको छ भनेर ।
यो देश श्रमजीवी र श्रवहाराको बाहुल्यता भएको देश हो । म त्यहि वर्गबाट आएकीले चुनाव जित्नेमा ढुक्क छु । मैले समाजको धेरै बर्ग र समुदायको प्रतिनिधित्व गरेकीे छु । म यो समाजको श्रवहारा हुँ, यो समाजको उत्पीडनमा परेकीे महिला हुँ, समाज परिवर्तन गर्न हिडेकीे यूवा हुँ र यो समाजको सबै खाले अवसरबाट बन्चित आदीवासी जनजाती पनि हँु । यो आधारमा मलाई मेरो क्षेत्रका जनताको अपार साथ छ । साथै म जुन पार्टीबाट चुनावी प्रतिस्पर्दामा छु त्यो पार्टी सधै जनताको बीचमा लोकप्रिय छ । लोकप्रिय पार्टीमा रहेको कार्यकर्ता र क्षेत्रका सबै जनताले बुझेकोले मलाई उहाँहरूले अत्यधिक बहुमतले बिजयी गराउनु हुन्छ भन्नेमा म पूर्ण विस्वस्त छु र चुनाव जित्नेमा ढुक्क छु ।
चार वर्ष संविधानसभा सदस्य हुदाँ आफ्नो क्षेत्रमा विकास निर्माणका धेरै काम गरेँ । मैले केहि जानेकी थिइन्, तर, मभन्दा जान्ने भएर जितेकाले त्यो क्षेत्रमा किन मैले जति काम गरेनन् । जनताले देखेका छन्, मेरो काम त्यसैको आधारमा मेरो मुल्यांकन हुनेछ भन्ने लाग्छ । यही क्षेत्रबाट जनतालाई अनेकौं आश्वासन दिएर जितेकाले भन्दा मैले धेरै गरेँ । एकपटक चुनाव जितेर गाउँ नर्फकनेहरू मैले मात्र हैन जनताले पनि चिनेका छन् । मलाई त यही क्षेत्रमा रहेर धेरै काम गर्नु छ । जनजाती, थारु, समुदायको लागि म आसा गर्ने व्यक्ति भएको किन पनि छु भने मेरो समुदायबाट प्रत्यक्ष चुनाव लड्ने म पहिलो महिला हुँ । मैले जित्दा एमाले मात्र हैन सर्वहाराको प्रतिनिधिले जित्ने छ । एउटा पूर्वकमलरीले जित्ने छ । यो मेरो जिल्ला, क्षेत्र, वर्ग, समुदाय सबैको जित हुने छ । र, दाङ २ का जनता मलाई जिताएर त्यो गौरव प्राप्त गर्न हतारमा छन् ।
यो पटक निर्वाचन जितेर पहिलो संविधानसभा सदस्य भएर पूरा गर्न नसकेको संविधान बनाउने अधुरोकाम पूरा गर्न चाहन्छु । त्यसबेला आफूले नबुझेका कुरा अहिले बुझ्ने भएकी छु । नेताहरूलाई पनि दवाव दिन सक्ने भएकी छु । त्यति बेला समेटेका अनुभवहरू यो पटक कार्यान्वयन गर्न गराउन मलाई सजिलो हुनेछ ।
अरबको खाडीमा काम गर्ने शुभचिन्तकहरूले पठाएको पैसाले चुनाव प्रचारको लागि भाडामा लिएको गाडी जलाए पछि शान्ताले आफ्नो फेसबुक स्टाटसमा लेखेकी थिइन्–
गए राती मैले भाडामा लिएको गाडीमा अज्ञात समूहले आगो लगायो । त्यो गाडी मात्र जलाइएको थिएन (अरबका खाडी र अफगानिस्तान लगायतका देशमा खुकुरीको धारमा बाँचेर आफ्नो रगत र पसिनाको कमाइबाट आफ्नो र बालबच्चाको गाँस काटेर मेरा शुभचिन्तकहरूले मेरो सहयोगार्थ पठाउनुभएको रगत, पसिना र आाँशु पनि जलाउने प्रयास गरियो । लक्ष्मीपुरका घर–घरबाट उठाएका चामलका दानाहरूमा पनि आगो झोंसियो । मैले कुनै नवधनाढय वा स्वार्थप्रेरित व्यक्तिबाट सहयोग लिएर त्यो गाडी भाडामा लिएकी थिइनँ । चाहे नेपालभित्र होस् या परदेशमा सबैतिरका गरिखाने बर्गको सहयोगमा चुनावी अभियान अघि बढाएकी थिएँ र बढाउँदै छु ।
मेरा समस्त शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरू १ गाडी जलाउनेहरूले वर्गर्ीय मुक्ति र श्रमजीवी वर्गको पक्षमा मेरो संघर्ष र प्रतिवद्धतालाई जलाउन कदापि सक्ने छैनन् न तपाइँहरूले मप्रति देखाउनुभएको सद्भाव, शुभेच्छा र विश्वासलाई नै खरानी पार्न सक्दछन् । यस्ता अवरोधहरूले मलाई कत्ति पनि विचलित पार्न सक्ने छैन र म आफ्नो संघर्षपथमा निरन्तर लागिरहने छु भन्ने विश्वास तपाँईहरूलाई दिलाउन चाहन्छु ।
यतिबेला केही प्रश्नहरू उब्जिएका छन् र शायद गाडीमा आगो झोस्नेहरूलाई एउटा पुस्तौँदेखि आवाजविहीन भएको सीमान्तिकृत समुदायकी महिला अघि बढ्न खोजेको मन परिरहेको छैन वा रातदिन पसिनामा डुबेर आधा पेटमा चित्त बुझाउन बाध्य हुने वर्गको आवाज देशको कानून बनाउने ठाउँसम्म पुग्ला भन्ने कुराहरूले उनीहरू तर्सिरहनु भएको छ वा महिलाहरू, पिछडिएको समुदाय र पुस्तैनी दासताबाट भर्खर उम्केकाहरू स्वाधीनता, अधिकार, स्वावलम्बन र वर्गर्ीय मुक्तिका लागि अघि बढेकोमा उहाँहरूलाई जलन भैरहेको छ ?
यस घडीमा मलाई तपाँइहरूको अझ बढी साथ, सहयोग र समर्थनको खाँचो छ । मेरो लडाइँ व्यक्तिगत प्रतिष्ठाको लडाइँ होइन, श्रमजीवी, देशभक्त तथा सीमान्तीकृत वर्गको प्रतिष्ठा, स्वाभिमान र उत्थानको लडाइँ हो । मलाई हतोत्साही पार्न खोज्ने यस किसिमका दुष्प्रयासको जवाफ आगामी निर्वाचनमा तपाइँहरूले अझ बढी साथ दिनु भएमा मात्र दिन सकिन्छ भन्ने मेरो विश्वास छ । अविचलित भई यस अभियानमा साथ दिनुहुन सबैमा नम्रनिबेदन गर्दछु ।

(सौर्यकर्मी चमिना भट्टराई सँगको वार्तामा आधारित)

प्रतिक्रिया