आफ्नो स्वार्थमा नलाग : राना

police

एआइजी उपेन्द्रकान्त अर्याललाई दज्र्यानी चिन्ह

काठमडौं, १६ कात्तिक । प्रहरी महानिरिक्षक कुवेरसिंह रानाले व्यक्तिगत स्वार्थलाई संगठनमा छिराउन खोज्नेहरू आफै पाखा लाग्दै जाने बताए । एआइजीमा बढुवा भएका उपेन्द्रकान्त अर्याललाई दज्र्यानी चिन्ह प्रदान गर्न शुक्रबार आयोजित कार्यक्रममा महानिरीक्षक रानाले प्रहरी संगठन व्यक्तिगग स्वार्थ पूरा गर्ने थलो नभएको बताए ।

एआइजीमा बढुवा हुनका लागि डिआइजीहरूले सार्वजनिक रूपमा नै चलखेल गरेका थिए । बढुवा नपाएपछि केही डिआइजीले सार्वजनिक रूपमै विरोधसमेत गरेका थिए । पार्वती थापालाई एआइजी नबनाएको विरोधमा केही महिला अधिकारकर्मीले शुक्रबार विरोध कार्यक्रम समेत गरे । त्यस्ता गतिविधितर्फ लक्षित गर्दै महानिरीक्षक रानाले भने, ‘आफ्ना गुनासा, सुझावहरू संगठनभित्र राख्ने परिपाटी बसाउनुपर्छ । यसले संगठनलाई मजबुत बनाउदछ, संगठन मजबुत बन्नु भनेको हामी मजबुत हुनु हो । संगठन राम्रो काम गर्ने, मान र प्रतिष्ठा बढाउनेहरूको हो ।’
सरकारले बिहीबार एआइजीमा बढुवा गरेका उपेन्द्रकान्त अर्याललाई एक समारोहबीच प्रहरी महानिरीक्षक रानाले दज्र्यानी चिन्ह प्रदान गरे । बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक अर्यालले मुलुक अहिले संवेदनशील अवस्थामा रहेकाले आफू संगठनको विकासमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे । अर्याल ०४३ फागुन ३ मा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । ०६६ असोज २१ गते डीआइजीमा बढुवा भएका अर्याल केही दिनमै प्रहरी प्रमुख बन्ने लगभग पक्का छ । आगामी कात्तिक २९ गते प्रहरी महानिरीक्षक रानासहित अन्य सबै एआईजी सेवा निवृत हुँदैछन् ।
अर्याल एआइजीमा बढुवा भएपछि रिक्त क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चलको प्रमुखमा डिआइजी नवराज सिलवाल तोकिएका छन् । शुक्रबारबाटै कमाण्ड सम्हाल्ने गरी सिलवाललाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारी दिएको हो । यस अघि सिलवाल प्रहरी प्रवक्ता थिए ।

प्रतिक्रिया