निर्वाचन प्रचारमा विद्यालय र बालबालिकाको दुरूपयोग

काठमाडौं, १४ कात्तिक । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिका, विद्यालयलाई प्रयोग नगर्न सरोकारवाले अपील गरेका छन् ।

राजधानीमा आज (बिहीबार) आयोजित कार्यक्रममा सरोकारवालाहरुले आचारसंहिता अनुसार बालबालिका र विद्यालयलाई निर्वाचन प्रचारका क्रममा प्रयोग र दुरूपयोग नगर्न भनेका हुन् । नेपाल सरकारले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी सकेको छ ।

सरोकारवालाले माध्यामिक तहका विद्यालयका विद्यार्थीलाई रचनात्मक सचेतना बाहेक कुनै पनि राजनीतिक दल र भातृ सङ्गठनले सदस्यता नदिने तथा निर्वाचन प्रचार प्रसारमा प्रयोग नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले सरोकारवालाको सहमतिमा आचारसंहिता जारी गरेकाले पालनाका लागि आग्रह गरे । उनले यसको पालना नभएमा कारवाहीका लागि जान सकिने बताए ।

उनले मतदान केन्द्र भएका विद्यालयका हकमा अनुगमन र निरीक्षणका लागि सम्बन्धित मतदान अधिकृतलाई तोकिएको जानकारी दिए ।

शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले सरकारको कार्यक्रम र आचासंहिताभित्र शिक्षकहरू बस्नुपर्ने बताए । उनले शिक्षक आफैले त्यसमा सचेत हुनुपर्ने बताए ।

नेकपा—माओवादीनिकट अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष लालबहादुर बिसीले सरकारले नै आफ्ना शिक्षकहरूलाई गिरफ्ता गर्ने, पार्टीहरूले विद्यालयमा सभा गर्नेजस्ता कार्य गरेर आचारसंहिता उलङ्घन गरेको आरोप लगाए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापाले शिक्षा मन्त्रालयले ट्ेरड युनियन अधिकारलाई कुण्डित हुने गरी शिक्षकलाई राजनीतिक आस्थामा बस्न नपाउने भन्ने निर्देशन जारी गरे आतङ्क सिर्जना गरेको आरोप लगाए ।

नेपाल शिक्षक सङ्घका महासचिव राजेन्द्रराज पौडेलले विद्यालय शान्ति क्षेत्रलाई सबै पक्षले प्रतिवद्धता जनाएपनि यसको पालना नभएको बताए । उनले निर्वाचन आयोगले विद्यालयलाई प्रयोग गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने हिम्मत गर्न माग गरे ।

प्रतिक्रिया