इटा उद्योग भ्याटको दायरामा

itta-uddhogजनकपुर, १४ कातिक । : विगत लामो समयदेखि धनुषा, महोत्तरी र सर्लाही जिल्लामा अवैध रुपमा सञ्चालित इँटाभट्टाहरू भ्याटको दायरामा आउन थालेका छन् । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गर्ने व्यवसायीलाई छुटको व्यवस्था गरेपछि तीनै जिल्लामा सञ्चालित इँटा उद्योगहरूमध्ये ८० वटा इँटा उद्योग करको दायरामा आएका हुन् ।

सरकारले असोज मसान्तभित्र करको दायरामा आउने इँटा उद्योग दर्ता हुनुपूर्व गरेको कारबाहीमा लाग्ने कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा गर्ने निर्णय गरेको थियो । सरकारको यस्तो निर्णयपछि इँटा उद्योगहरू धमाधम मूल्य अभिवृद्धि करमा दर्ता हुन थालेको आन्तरिक राजस्व कार्यालय जनकपुरले जनाएको छ । धनुषा महोत्तरी र सर्लाही जिल्लामा करिब एक अर्ब ६५ करोडको लगानीमा एक सय ३५ वटा इँटा भट्टाहरू सञ्चालनमा छन् । जसमा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुईलाख ५० हजार कामदारले रोजगारी पाइरहेको जनकपुर अञ्चल इँटा उद्योग व्यवसायी सङ्घले जनाएको छ ।
तराईका तीन जिल्ला धनुषा, महोत्तरी र सर्लाहीमा रहेका इँटा उद्योगहरूमध्ये ५० प्रतिशत उद्योगहरू सरकारी मापदण्डविपरीत, गैरकानुनीरुपमा सञ्चालनमा रहेका थिए । यसैबीच, यहाँ आयोजित अन्तक्र्रियामा इँटा व्यवसायीहरूले एक जिल्लाबाट अर्को जिल्लामा इँटा लैजाँदा ट्राफिक प्रहरीले दु:ख दिने गरेको, सीमा क्षेत्रमा अनियमितरुपमा सञ्चालित इँटा उद्योग बन्द हुनुपर्ने, कर नतिर्ने उद्योगलाई कारबाही हुनुपर्ने, सरकार र करदाताबीच सुमधुर सम्बन्ध हुनुपर्ने, व्यवसायीलाई दण्ड दिनेभन्दा करको दायरामा ल्याउन आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख रमेश अर्यालले भ्याट सङ्कलनमा व्यवसायीले सरकारलाई सहयोग गर्न तथा दर्ता नै नगरी सञ्चालित इँटा उद्योगलाई अनुगमन गरी कारबाही गरिने बताए । जनकपुर अञ्चल इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष विनयकुमार यादवको सभापतित्वमा भएको सो कार्यक्रममा व्यवसायी माधव सुवेदी, हरि मैनालीलगायतका व्यवसायीले इँटा व्यवसायीलाई सरकारले नकारात्मक रुपमा नहेर्न आग्रह गर्नुभयो । सो कार्यक्रम ६० जना भन्दा बढी व्यवसायीको सहभागिता थियो ।

प्रतिक्रिया