सोलुमा साढे सात हजार पर्यटक

सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउन, भदौ र असोज महिनामा गरी कूल सात हजार ६ सय ९५ जना पर्यटकले भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत असोज महिनामा ६ हजार ४ सय ६२ जना, भदौ महिनामा ९ सय ३१ जना र साउन महिनामा २ सय ९२ जना गरी कूल सात हजार ६ सय ९५ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् ।

यस्तै सोही महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले एक करोड ६० लाख ६२ हजार ८ सय २३ रुपैयाँ ८० पैसा राजस्व सङ्कलन गरेकोछ । कार्यालयको तथ्याङ्कअनुसार असोज महिनामा सबैभन्दा धेरै एक करोड ५१ लाख ९४ हजार ३ सय ५१ रुपैयाँ ३० पैसा, भदौ महिनामा २४ लाख २ हजार ५ सय ८२ रुपैयाँ ९३ पैसा र साउन महिनामा ६ लाख २५ हजार ८ सय ८९ रुपैयाँ ६२ पैसा राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार सगरमाथा क्षेत्र घुम्न आउने विदेशी पर्यटकको विवरण हो भने राजस्वमा पर्यटक प्रवेश शुल्क, पर्यटन भरिया प्रवेश शुल्क, हेलिकोप्टर अवतरण शुल्क, काठको पुर्जी, ढुङ्गा बालुवा सङ्कलन, होटल सञ्चालन शुल्क, साहसिक पर्यटन गतिविधि सञ्चालन शुल्कलगायत रहेका छन् ।
यस वर्ष मौसममा आएको खराबीका कारण तुलनात्मक रुपमा पर्यटकको आगमण केही खस्किएको भएपनि कात्तिक महिनामा सो क्षेत्रको मुख्य पर्यटकीय सिजन भएकाले पर्यटक आगमण सन्तोषजनक रहने पनि सहायक संरक्षण अधिकृत उपाध्यायले बताए । (सौस)

प्रतिक्रिया