तिहार, छठमा दैनिक उपभोग्यवस्तु अभाव नहुने

काठमाडौं, १३ कात्तिक । नजिकिँदो चाडपर्व र आसन्न संविधानसभा निर्वाचनमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले आºना सबै अंगलाई सक्रिय राख्ने भएको छ । तिहार, छठ पर्व र संविधानसभाको दोस्रो निर्वाचनलाई ध्यानमा राखेर सरकारले आपूर्ति व्यवस्था दुरुस्त बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाले काठमाडौंमा खुलेका सुपथमूल्यका पसलको मंगलबार आकस्मिक स्थलगत निरीक्षणका क्रममा सो जानकारी दिए । सचिव बास्कोटाले आपूर्ति व्यवस्थामा ध्यान दिन सरोकारवाला कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए । ‘तिहार, छठ पर्व र संविधानसभाको निर्वाचनसम्म आपूर्ति व्यवस्थालाई दुरुस्त राख्नुस्,’ उनले भने । अनुगमनका दौरान सचिव बास्कोटासँगै सार्वजनिक संस्थानका प्रमुख र सम्बद्ध सरकारी पदाधिकारी पनि थिए ।

बास्कोटाले सूर्यविनायक, कोटेश्वर, जावलाखेल, बल्खु, कालिमाटी, टेकु र सिंहदरबार (रामशाहपथ) मा खुलेका सुपथमूल्यका पसलको निरीक्षण गरेका थिए । दैनिक उपभोग्य सामान सस्तोमा उपलब्ध गराउन सरकारले राजधानीमा सुपथमूल्य पसल सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया