पक्राउ परेका कार्यकर्ता छाडीदेउ : माओवादी

maobadisकाठमाडौं, १२ कात्तिक । नेकपा माओवादीले शान्तिपूर्ण चुनाव बहिष्कारका क्रममा मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्ता धरपकड भएको भन्दै आक्रोश जनाएको छ ।

नेकपा माओवादीका मजदुर नेता रामदीप आचार्यले आज (मंगलबार) विज्ञप्ति जारी गरेर सुर्खेतमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता विनासर्त रिहाईको माग गरे । उनले पक्राउ परेका कार्यकर्ता रिहा नगरिए आन्दोलन गर्ने चेतावनी दिए ।

उनले संविधानसभाको कथित दोश्रो निर्वाचनको पक्ष र बहिष्कारको पक्षमा देश धु्रविकृत भइरहेको बताए ।

‘निर्वाचन गर्ने भनिएको मिति जतिजति नजिकिदैछ, बहिष्कारका पक्षमा जनलहर पनि त्यत्ति नै बढ्दै गइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनलहरबाट अत्तालिएको कठपुतली कर्मचारी सरकार व्यापक धरपकड र दमनमा उत्रिएको छ ।’

चुनाव बहिष्कार अभियानका क्रममा केन्द्रीय सचिवालय सदस्य इश्वरभक्त सुनारलगायतका नेता तथा कार्यकर्ता सोमबार सुर्खेतबाट गिरफ्तार भएको घटनाप्रति नेकपा माओवादीले आपत्ति जनाएको छ ।

आचार्यले शान्तिपूर्ण तरिकाले बहिष्कार अभियानमा लाग्न पाउने अधिकारलाई कुण्ठीत नबनाउन सरकारलाई चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया