प्यासन बन्यो प्रोफेसन

Manisha-Dangol-Shresthaसानैदेखि फेसनको पारखी थिइन् मनिषा डंगोल श्रेष्ठ । तथापि, यी फेसन पारखीको औपचारिक अध्ययनको विषय भने भिन्नै थियो । १३ वर्षअघि नेपाल छोड्दा उनको रूची विषय फेसन डिजाइन थियो । काठमाडांैकी स्थायी वासिन्दा मनीषाका बुबा होटल व्यवसायमा संलग्न थिए । यसैकारण उनी पनि होटल व्यवस्थापनमै उच्चशिक्षा हासिल गर्न चाहन्थिन् । परिवारको सल्लाहअनुसार नै उनी होटल व्यवस्थापन अध्ययन गर्न बेलायत गइन् ।

बेलायतमै होटल व्यवस्थापनमा पोस्ट ग्राजुएट गरेपछि नेपाल फर्किने सोचाई बनाएकी उनलाई परिवारले फर्कने अनुमति दिएन । ‘म नेपाल फर्किएर बुबाले सम्हाल्दै आउनुभएको व्यवसायलाई निरन्तरता दिने सोचाइमा थिए,’ उनले भनिन्, ‘तर देशभित्र अस्थिर राजनीतिका कारण व्यवसाय खस्कदै गएको आमाबुबाले बताएपछि लन्डनको बसाइलाई निरन्तरता दिए ।’ त्यसपछि उनले लन्डनमै एमबिए गरेर विभिन्न क्षेत्रमा काम गरिन् ।
करिब एक दशक लामो लन्डन बसाइका क्रममा उनले सोपिङ मल देखि बैंकसम्म श्रम गरिन् । यसबीचमा पनि उनको सानैदेखिको रुचीको विषय फेसन डिजाइन भने मनभित्रबाट अझै हटेको थिएन । यसैकारण उनले सबै काम छोडेर लन्डनमै फेसन डिजाईन सुरु गरिन् । श्रेष्ठ भन्छिन्, ‘काम त धेरै ठाउँमा गरे तर मलाई भने फेसन डिजाइनर बन्ने शोखले कहिल्यै छोडेन ।’ सन् २०११ मा लन्डन फेसन हाउस खोलेर श्रेष्ठले औपचारिक रूपमै सानै देखिएको त्यो ईच्छालाई मूर्त रूप दिइन् । कस्तो छ त फेसन डिजाइनको व्यवसाय ? भन्ने जिज्ञासामा श्रेष्ठले भनिन्, ‘मैले सुरु गरेको धेरै वर्ष त भएको छैन तर छोटो समयमा नै राम्रो छाप भने पार्न सफल भएकी छु । अहिले लन्डनवासी नेपालीहरूले मेरो डिजाइन मन पराइदिएका छन् ।’
लन्डनमा बसेर उनले फेसन डिजाइनमार्फत नेपालीपनलाई पनि प्रोत्साहन गर्ने गरेकी छिन् । उनले आफ्ना डिजाइनमा नेपालको ढाका र पश्चिमा फ्युजन गरेर डिजाइन तयार गर्दै आएको बताउँछिन् । यति मात्र नभएर नेवारीको हाकुपटाके झल्कने गरीसमेत डिजाईन गर्ने गरेकोले पश्चिमाहरूले समेत मन पराउने गरेको फेसन डिजाइनर श्रेष्ठ बताउँछिन् । ‘बेलायत एकदमै चिसो हुने ठाँउ हो, मैले मेरो डिजाइनमा नेपालको ढाकालाई प्रयोग गर्ने भएकाले यो न्यो न्यायो हुन्छ, ‘उनी भन्छिन्, त्यसैले पनि लन्डनवासीहरूले एकदमै रुचाएका छन् ।’ चाँडै बेलायतकै चर्चित सेलिब्रेटीलाई ब्रान्ड एम्बेस्डर बनाएर फेसन डिजाइनको प्रोमोसन गर्ने तयारीमा रहेको बताए पनि सेलिब्रेटीको नाम भने गोप्य नै राख्न खोजिन् ।
श्रेष्ठ लन्डनमा मात्र फेसन डिजाइनिङलाई सीमित गर्ने पक्षमा छैनन् । नेपालमा पनि शाखा खोल्ने सोचाइमा छिन्् उनी । ‘म उपयुक्त ठाउँ हेरिरहेकी छु, ठाउँ मिल्यो भने चाँडै काठमाडांैमा पनि यसको विस्तार गर्छु,’ उनले भनिन् । उनको बुझाइमा नेपालमा पनि फेसनप्रेमीहरू पनि कम छैनन् । ‘म बेलायत जाँदा अहिलेजस्तो कहाँ थियो र, आश्चर्यचकित मुद्रामा उनले भनिन् ‘अहिले त धेरै परिवर्तन भइसक्यो नि, फेसनमा लन्डनभन्दा बरूअगाडि नै होला हाम्रो काठमाडौं ।’ बेलायतमै व्यवसायमा मात्र सीमित छैनन् उनी । श्रेष्ठले लन्डन फेसन हाउस मार्फत नै विभिन्न सुन्दरीप्रतियोगीताहरू समेत आयोजना गर्दै आएकी छिन् । यसै महिनाको सुरुमा मिस टिन नेपालकै आयोजना गरेकी फेसन डिजाइनर श्रेष्ठले मास्टर्स एन्ड मिस लिटिल नेपाल युकै पनि आयोजना गरेकी थिइन् । यस्ता कार्यक्रमबाट व्यक्तित्व विकासमा निकै सहयोग पुग्ने गरेको उनको दाबी छ । लन्डनमै अन्तर्राष्ट्रिय फेसन सप्ताह गर्दै आएकी श्रेष्ठले नेपालमा पनि विभिन्न समयमा फेसन सो गर्दै आएकी छिन् ।
फेसन डिजाइनमा स्थापित हुन संघर्ष गरिरहेकी श्रेष्ठले ब्युटी फर चेन्ज नामक समाजिक कार्यलाई पनि साथमै अगाडि बढाएकी छिन् । उनले यो कार्यक्रमअन्तर्गत काठमाडौंको कीर्तिपुरमा रहेको एड्स रोग प्रभावित बच्चाहरूको घरलाई एक वर्षसम्म सम्पूर्ण रूपमा सहयोग गर्दै आएकी छिन् । फेसन डिजाइनमार्फत नेपाली पहिचानलाई पनि बढावा दिँदै आएकी श्रेष्ठ भन्छिन्, ‘होटल व्यवसाय गर्ने भनेर अध्ययन गरे तर फेसन डिजाइनर बने । जे होस् फेसन डिजाइनिङ प्यासन थियो अहिले आएर प्रोफेसन नै बन्यो ।’

प्रतिक्रिया