व्यापारीको मनोमानी

चितवन : एक साता अवधिमा स्थानीय बजारमा तरकारीको भाउ कम्तिमा ४० प्रतिशतले वृद्धि भएको छ । व्यापारीले तरकारीको भाउ मनोमानी ढंगले बढाएको उपभोक्ताले आरोप लगाएका छन् । प्रशासनलाई पनि निर्वाचन लागेकाले अहिले बजारभाउको अनुगमन गर्न सकिएको छैन । मौका छोपेर व्यापारीले मनोमानी पैसा लिने गरेको चितवनका स्थानीय उपभोक्ता अर्जुनप्रसाद शर्माले बताए ।
एक साता अघिसम्म काउली प्रतिकिलो ६० सम्म पाउनेमा अहिले भाउ बढेर १ सय नाघेको उहाँले बताए । यस्तै बोडी पनि ६० बाट नाघेर एक सय प्रतिकिलो पुगेको छ । एकसाता अघि भिन्डी ५० किलोमा किनेकी भरतपुरकी मीना पौडेलले आइतबार प्रतिकिलो एक सय मा खरिद गर्नुपरेको दु:खेसो व्यक्त गरीन । बढेकै भएपनि ५/१० बढ्नुपर्ने हो, तर साता नबित्दै किलो मै ४० देखि ६० सम्म बढ्नु त भ्रष्टाचारभन्दा केही भएन, उनले भनिन् । यस्तै गोलभोडा, करेला, बन्दालगायत तरकारीमा पनि भाउ बढेको उपभोक्ताको गुनासो छ । अझ भित्री बजारमा भने उक्त मूल्यभन्दा बढी लिने गरेको पाइएको छ । सुरक्षाकर्मी र प्रशासन निर्वाचनमा केन्द्रित भएकाले चाडबाडको मुखमा बजारभाउ अनियन्त्रित भएको भरतपुरका स्थानीय राजु सेढाइले बताए ।
पहाडबाट झरेको तरकारी सस्तोमा लिने अनि उपभोक्तालाई भने महागोमा बेच्ने गरेको उपभोक्ताले गुनासो छ । यहाँको उत्पादन पोखरा, बुटवल, काठमाडाौ पनि जान्छ, तर अहिले एक्कासी तरकारीको भाउ बढेकाले प्रशासनले नियन्त्रण गर्नुपर्ने उपभोक्ताको भनाइ छ । यता व्यापारी भने तरकारीको उत्पादन कम भएको र बजारमा आपूर्ती भन्दा माग बढेकाले भाउ बढेको तर मनोमानी नगरेको दावी गर्दै आएका छन् । चितवन प्रशासनले पनि विगतमा जस्तो बजारको अनुगमन गर्न नसकेको स्वीकारेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले विगतमा जस्तो अनुगमन नगरिए पनि निगरानी भने जारी रहेको बताए । (सौस)

प्रतिक्रिया