चुनाव बिथोल्न माओवादी सक्रिय

धनगढी : मतदान गर्ने दिन नजिकिएसँगै विभिन्न पक्षबाट चुनाव विरोधी गतिविधि बढ्दै गएका छन् ।

निर्वाचनमा भाग नलिएको मोहन बैद्य नेतृत्व नेकपा–माओवादीलगायतले मतदाता तथा उम्मेदवारहरुलाई तर्साउन पछिल्ला दिनमा चुनाव विरोधी गतिविधि सञ्चालन गरेका हुन् ।
चुनावको विरोध गर्नेहरुले दल तथा उम्मेदवारहरुले चुनावी प्रचारप्रसार तीव्र गरिरहेको बेला अनेक बहानामा तर्साउन खोजे पछि सुरक्षाकर्मीहरुले सुरक्षा व्यवस्था कडा पारिएको जनाएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले शनिवार राजनीतिक दल, सवै सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकृतलगायतसँग सर्वपक्षिय बैठक गरी शान्तिसुरक्षाको अवस्था र आचारसंहिता पालना सम्बन्धी जानकारी गराएको बताए ।
कार्यक्रममा दलका प्रतिनिधिहरुले पछिल्ला दिनमा बैद्य माओवादीबाट चुनावी कार्यक्रम गर्न अवरोध सिर्जना गर्ने, पार्टीको झण्डा, ब्यानर, पम्पलेट च्यात्ने गरेको भन्दै सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारी लेखकको ध्यानकर्षण गराएका थिए । कार्यक्रममा कैलाली प्रहरी प्रमुख एसपी मोहनराज जोशीले बैद्य माओवादी लगायतले अनेक बहानामा तर्साउन खोजे पनि सवैले ढुक्क भएर प्रचारप्रसार र चुनावी कार्यक्रम गर्न आग्रह गरेको बताइएको छ ।
उपस्थित दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्धता जनाउँदै निर्धक्क भएर चुनावी कार्यक्रम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी लेखकले जानकारी दिए । लेखकले सम्पूर्ण उम्मेदवार र मतदातालाई शान्तिसुरक्षामा शंका नगरी आचारसंहिताको परिधिमा रहेर चुनावी कार्यक्रममा सहभागि हुनसमेत आग्रह गरे ।
उता, नेकपा–माओवादी कैलाली सेक्रेटरी महेश बडुवालले सहमतिविना गर्न लागिएको निर्वाचन आफूहरुलाई स्विकारे नभएको बताउँदै पूर्वनिर्धारित कार्यक्रम बमोजिम चुनावलाई असफल पार्न विभिन्न कार्यक्रम गरिरहेको र अझै गर्ने बताए ।

प्रतिक्रिया