निर्माण नियन्त्रक शर्माको अवस्था गम्भीर

saroj-sharmaफिल्मकर्मी सरोज शर्माको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । डेढ बर्षअघि पित्तको थैलीमा स्टोन देखिएपछि बिग्रिदै गएको स्वास्थ्य अवस्था पछिल्लो समयमा झन् खराब देखिएको परिवारले जनाएको छ । शर्माको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पनि दु:खाइ कम नभएपछि थपउपचारका लागि पुन: भर्ना गरिएको थियो ।
केही समयको अन्तरालमा आफैँ हिडडुल गर्नसक्ने भएपछि शौचालय जाने क्रममा अचानक बेहोस भएका उनलाई माइतिघरस्थित अन्नपूर्ण अस्पतालमा भर्ना गरियो । त्यस बेला उनी ४ दिनसम्म कोमामा रहे । सिटी स्क्यान गर्दा उनको मुटु र फोक्सोको बीचमा रगत जमेको भेटिएपछि सहिद गंगलाल अस्पताल पुर्‍याइएको थिए । चिकित्सकले शल्यक्रिया गर्न नमिल्ने सल्लाह दिएपछि उनको अन्य उपचार भए पनि शल्यक्रिया भने भएन । गत सेप्टेम्बरमा उनी बागबजारस्थित मोडल अस्पतालमा पाँचाँैपटक भर्ना भए । अस्पतालमा भर्ना भएको १४औँ दिनमा उनको शरीरको दायाँ भागले काम गर्न छाड्यो । त्यसपछि १७औँ दिनमा ह्विलचियरको सहाराले घर फकिर्एका शर्माको अहिले पनि शरीरको दायाँ भागले काम नगरेको परिवारले जनाएको छ । नेपालमा उपचार सम्भव नभएपछि दिल्लीस्थित गंगाराम अस्पतालमा उपचार गराउने क्रममा उनलाई मेनेनजाइटिससँगै नेपालमा उपचार गराउदा चिकित्सकको लापरबाहीका कारण टाउकोमा रक्तश्राव भएको पाइएको थियो । शर्मालाई सो अस्पतालले टाउकोको शल्यक्रिया गरेर काठमाडौं पठाइदिएको हो । नशाको गम्भीर समस्या भोगिरहेका शर्माका अनुसार उपचारका लागि अस्पतालमै बस्नु पर्ने भए पनि आर्थिक अभावका कारण अस्पतालबाट डिस्चार्ज लिई काठमाडौं फर्केका हुन् । ‘अरू त ठीकै थियो, टाउको दुखाई फेरि सुरु भएकाले समस्या भएको छ’ सरोजले भने ‘डाक्टरहरूले टाउकोको पेन राखेर नबस्नु, पेन भए तुरुन्तै आउनु भन्नु भएको छ ।’ झण्डै तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रलाई निर्माण नियन्त्रकका रूपमा योगदान दिएका तथा चलचित्र निर्मातासमेत रहेका शर्माको उपचारका क्रममा भएको रकम पनि सकिसकेको र कतैबाट सहयोगसमेत नपाएकाले थपउपचार गर्न समस्या भएको छ । शर्माले चलचित्र कल्याण कोषबाट ५० हजार रुपैयाँबाहेक अन्य कुनै पनि निकायबाट अहिलेसम्म सहयोग पाएका छैनन् । नेपालमै उपचारका लागि १५ लाखभन्दा बढी खर्च गरिसकेका छन् । दिल्लीमा उपचार गर्दा पनि थप ६ लाख भारु सकिएको शर्माले जानकारी दिए । थपउपचारका लागि तीनदेखि ६ लाख भारु खर्च लाग्ने उनी बताउँछन् ।
फिल्म भूमरीबाट नेपाली फिल्म उद्योगमा प्रवेश गरेका उनले माया, परिभाषा, कन्यादानजस्ता फिल्ममा नृत्यकारको रूपमा समेत काम गरेका छन् । विश्वासघात, माया बसेछ, आवाज, किन लाएछु माया, प्रेमयुद्धलगायत दर्जनौँ फिल्ममा निर्माण नियन्त्रक भएर काम गरेका छन् । त्यस्तै खुनी पायल नामक हिन्दी फिल्ममा मा पनि उनले काम गरेका छन् । यस्तै, विभिन्न टेलिसिरीयलहरू रंग नम्बर, नाता रगतको, मुक्ति, माटो ढुंगा होइन, विज्ञापन, परेली, परदेशी, प्रतिक्षा, अहंकार, आरम्भ, गहना, आक्रोश, संजोग, अमर प्रेम, एक सहरमा एक कोठा, पालेदाई, भाइ, पराइलगायतमा पनि उनले विभिन्न भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया