नेदरल्यान्डमा फिल्म अवार्ड

entertainmentविदेशमा बस्ने नेपाली कलाकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)ले सन् २०१४ को मार्च २९ मा नेदरल्यान्डमा ‘दोस्रो अनेकस फिल्म अवार्ड’ कार्यक्रम गर्ने भएको छ । काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पुष्प बरुवालले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यका साथ अवार्ड आयोजना गर्न लागेको जानकारी दिए । ‘हामी फिल्म सम्बद्ध संस्थालाई साथमा लिएर अवार्डलाई सम्पन्न गर्नेछौँ,’ उनले भने, ‘त्यसका लागि हामी सहकार्यका लागि सधैँ तयार छौँ ।’ अनेकसको पहिलो अवार्ड जर्मनीमा सन् २०१३ मा भएको थियो ।
सर्वोत्कृष्ट फिल्म र सर्वोत्कृष्ट निर्देशक गरी दुई विधामा अवार्ड दिइने बताइएको छ । यसअघि पहिलो सँस्करणमा सुनील रावलले बनाएको चलचित्र ‘सायद’ र सोही चलचित्रका निर्देशक सुरज सुब्बा ‘नाल्बो’ उत्कृष्ट भएका थिए । कार्यक्रममा आयोजक संस्था अन्तर्राष्ट्रिय कलाकार समाजका अध्यक्ष वरुवालले इनास अवार्डलाई उत्कृष्ट बनाउन प्रयास जारी रहेको र सबैको साथको अपेक्षा गरेको बताए । उनले आगामी दिनमा अवार्डमा थपविधा पनि समावेश गर्ने जानकारी दिए । कार्यक्रममा संस्थाका सल्लाहकार पुष्प थापा र टेकबहादुर कार्की तथा संरक्षक निता श्रेष्ठले आगामी दिनमा अवार्डको स्वरूपलाई विस्तार गर्ने बताए । कार्यक्रममा सन् २०१३ को अवार्डमा सहयोग गरे बापत प्राविधिक संघलाई अनेकसले सम्मान पनि गरेको थियो ।

प्रतिक्रिया